२५ बैशाख २०८१, मंगलवार
Follow Us

गोर्खाको योगदान सम्झेर बेलायतले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली

नेपालब्रिटेन संवाददाता
२२ जेष्ठ २०७८, शनिबार ०६:१२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायती समकक्षी बोरिस जोन्सनलाई कोरोना खोप उपलब्ध गराउन माग गरेका छन् । बीबीसीसँग कुरागर्दै प्रधानमन्त्री ओलीले दुई देश बीचमा ऐतिहासिक सम्बन्ध रहेकाले नेपाललाई खोप उपलब्ध गराउनु बेलायतको जिम्मेवारी भएकोसमेत उल्लेख गरेका छन् ।

“म बेलायत सरकार र विशेषगरी प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपालको अवस्था र हामीले भोगिरहेको समास्याबारे आश्वास्त पार्न चाहन्छु,” प्रधानमन्त्री ओलीले भनेका छन्,“बेलायतमा रहेका गोर्खा सैनिकहरुको योगदानका कारण बेलायतले कोभिड सहयोगमा नेपाललाई उच्च प्राथमिकतामा राख्नुपर्छ ।”

नागरिकलाई भ्याक्सिन लगाउन सकेमा यो नियन्त्रण हुने उनले बताएका छन् । त्यो गर्न नसकेमा यो निकै कठिन हुनजाने उनको भनाइ छ । उनले नेपालको पुरानो सम्बन्धका आधारमा बेलायतलाई सहयोग उपलब्ध गराउन अपील गरेका छन् ।

“गोर्खाहरुले लामो समयदेखि आफ्नो जीवनलाई खतरामा राखेर बेलायतका लागि काम गरिरहेका छन्, उनले भने,“उनीहरुको परिवार यहाँ छन् । त्यसैले बेलायत र नेपालबीच गहिरो सम्बन्ध छ ।”

प्रधानमन्त्रीले बेलायती प्रधानमन्त्रीसँग खोपका लागि आग्रह गरेपछि बीबीसीले बेलायतका विदेश मन्त्रालयसँग पनि कुरा गरेको छ । बेलायती विदेश मन्त्रालयका प्रवक्ताले कोरोना महामारीसँग लड्न बेलायत नेपालसँगै रहेको उल्लेख गरेका छन् । विदेश मन्त्रालयका प्रवक्ताले कोभ्याक्समार्फत् नेपाललाई खोप उपलब्ध गराउने बताएका छन् ।