२३ बैशाख २०८१, आईतवार
Follow Us

एनआरएनएले पठाएको अक्सिजन कन्सनट्रेटर काठमाडौंमा

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ०२:४२

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको “नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ” अभियान अन्तर्गत विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका विभिन्न संघ–संस्था र नेपाली समुदायको सहयोगमा थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे काठमाण्डौं आइपुगेको छ ।

एनआरएनए प्रवक्ता डिबी क्षेत्रीका अनुसार यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ वटा र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटरको खरीदका लागि आर्थिक सहायता प्राप्त भएको हो । चीनस्थित नेपाली दुताबास र गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद् चीनले खरीद प्रकृया सहयोग गरेको थियो भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलामदेखि जुम्लासम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिद सहित११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी छ ।

विश्वभरीबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी गरिएको समेत जानकारी गराउँदछौँ ।

संघको अभियानमार्फत सहयोग गर्नु हुने विदेशस्थित दुताबास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति सहयोगदाता, लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति गैरआवासीय नेपाली संघ हार्दिक आभार व्यक्त गर्दछौं, प्रवक्ता क्षेत्रीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।