२३ बैशाख २०८१, आईतवार
Follow Us

जसपा संसदीय दलको नेतामा मुख्यमन्त्री राउत नै चयन

नेपालब्रिटेन संवाददाता
२३ जेष्ठ २०७८, आईतवार ११:१८

धनुषा । प्रदेश नम्बर- २ मा सत्ता समीकरण फेरबदलको चर्चा चलिरहेको बेला जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा भएको संसदीय दलको बैठकबाट मुख्यमन्त्री लालबाबु राउतलाई नै संसदीय दलको नेतामा चयन गरेको छ ।

जसपाका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर संघीय सरकारमा राजेन्द्र महतोको नेतृत्वमा सहभागी भएसँगै प्रदेश- २ मा समेत जसपाका बहुमत सांसदहरुको हस्ताक्षरसहित मुख्यमन्त्री राउत संसदीय दलको नेतामा चयन भएका हुन् ।

संसदीय दलमा चयनसँगै प्रदेशसभा सचिवालयमा पत्रसहित जानकारी समेत गराइने तयारी भइरहेको छ । बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जसपाको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता समेत चयन गरिएको स्रोतले जानकारी दिए ।

संघीय सरकारमा महन्थ-राजेन्द्र समुह ओली सरकारमा सहभागी भएसंगै प्रदेश– २ मा समेत सरकार पुनःगठनको अड्कलवाजी भइरहँदा अध्यक्ष उपेन्द्र यादवले आफ्नै उपस्थितिमा संसदीय दलको बैठक बोलाएर संसदीय दलको विधान समेत पारित गरेका छन् ।

बैठकमा तत्कालिन समाजवादी पार्टीका ३० र तत्कालिन राजपाबाट ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनाले सो निर्णयमा हस्ताक्षर गर्नुका साथै अन्य केही प्रदेशसभा सदस्यहरुलाई समेत आफ्नो पक्षमा ल्याउने तयारी भईरहेको एक नेताको दावी छ ।

३६ जना भन्दा बढी प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सहित आजै प्रदेशसभा सचिवालयमा लालबाबु राउतलाई संसदीय दलको नेतामा चयन गरिएको जानकारी प्रदेशसभा सचिवालयमा दिइने तयारी अन्तिम चरणमा रहेको स्रोतले बताएको छ ।

यता, जसपाको बैठकमा पार्टी सरकार बचाउने क्रममा अल्पमतमा पर्ने अवस्था आएमा मन्त्रालयहरुलाई पनि फुटाएर मन्त्रालयको संख्या विस्तार गर्ने जसपाको योजना रहेको स्रोतको भनाई छ ।

एक नेताका अनुसार सामाजिक विकास मन्त्रालय फुटाएर सामाजिक र स्वास्थ्य मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग, वन तथा वातावरण र पर्यटन मन्त्रालय बनाउने तथा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय फुटाएर भूमि, कृषि र सहकारी मन्त्रालयलाई टुक्रयाउने तयारी रहेको छ ।