ब्रिटेनका वैज्ञानिकहरुले कोरोना भाइरसको पहिचान गर्न सक्ने एक उपकरण बनाएका छन । यो उपकरणले १५ देखि ३० मिनेटमै कोरोना संक्रमण भए नभएको पत्ता लगाउने वैज्ञानिकहरुले दावी गरेका छन ।
वैज्ञानिकका अनुसार यो उपकरणले शयन कक्षमा ३० मिनेटमा नतिजा देखाउँछ । कोरोना संक्रमितको जानकारी दिने यो उपकरणलाई आउँदा दिनहरुमा हवाईजहाजको क्याबिन, मानव सेवा सेन्टर, घर, कक्षाकोठा, अफिसलगायतका स्थानका लागि महत्त्वपूर्ण साबित हुनसक्ने वैज्ञानिकहरुले बताएका छन् ।
कोरोना संक्रमण फैलिएको तथ्य पत्ता लगाउने यो उपकरणको नाम कोभिड अलार्म‘ राखिएको छ । यो उपकरण घरको सिलिङमा जडान गरिने स्मोक अलार्म भन्दा केही ठूलो छ ।
लण्डन स्कुल अफ हाइजीन एण्ड ट्रॉपिकल मेडिसिन (LSHTM) र डरहम युनिभर्सिटीका वैज्ञानिकको सामुहिक अनुसन्धानबाट तयार भएको यो उपकरणले छोटो समयमा कोरोना संक्रमण पत्ता लगाउने कार्यका लागि नयाँ आशा जगाएको छ ।
यो उपकरणको परीक्षणका क्रममा वैज्ञानिकहरुले ९८ देखि १०० प्रतिशत सकारात्मक नतिजा दिएको बताएका छन । वैज्ञानिकहरुले यो उपकरणबाट आरटी पिसिआर र एन्टिजेन परीक्षणभन्दा कयौँ गुणा सहज हुने विश्वास व्यक्त गरेका छन् ।
कोभिड अलार्मले लक्षण नदेखिएका संक्रमितको पनि पहिचान गर्न सक्छ । अनुसन्धानका अनुसार यो शुरुवाती पहल हो । यो उपकरण भविष्यमा आउने महामारीमा उपयोगी हुने वैज्ञानिहरुले बताएका छन् ।
डरहम युनिभर्सिटीका बायोसाइन्स प्रोफेसर स्टीभ लिन्डसेले बिरामीका अलग अलग लक्षण हुने भन्दै डिभाइसको बारेमा भन्छन्, “ हामीले कोरोना भाइरसबाट सुरु गरेका हौँ । संक्रमित र सामान्य मानिसमा गन्ध आउने र नआउने भएका कारण यो काम सहज भएको हो । बिरामीको पहिचान गर्ने यो तरिका निकै रोचक छ । यो कोरोना अलार्मको मुल्य हाललाई ५ हजार पाउण्ड तोकिएको छ ।”
रोबोसाइन्टिफिक यो उपकरणले छाला र सासद्वारा उत्पादन हुने रसायनको पहिचान गरी कोरोना संक्रमण भए नभएको पत्ता लगाउँछ । भाइरसका कारण मानिसमा वाष्पशील कार्बनिक यौगिक (VOC) मा परिवर्तन आउने गर्छ । यसले शरीरमा गन्ध पैदा हुन्छ र डिभाइसको सेन्सरले पत्ता लगाउने एक्प्रेस डट सिओले जनाएको छ ।