काठमाडौ । एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई फुटबाट जोगाउन तथा एकताबद्ध पार्न सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् । स्वास्थ्यमा गम्भीर समस्या भइ उपचारका लागि भारत जानुअघि एक विज्ञप्ति जारी गर्दै उनले एकता सफलताको बाटो भएको तर फुट विनासको बाटो समात्ने बताएका छन् ।
पूर्वप्रधानमन्त्री खनालले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृया अन्तर्गत यो पार्टी फुटबाट जोगाउन तथा एकताबद्ध पार्न भन्दै सबै नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गरेका छन् ।
पार्टीलाई फुटतर्फ धकेल्ने नभई धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरेमा सवै सफल हुने खनालको विज्ञप्तीमा उल्लेख छ । उनले देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले आफूलाई धेरै चिन्तित बनाएको उल्लेख गर्दै अन्तर संघर्षको पराकम्प तत्कालिन पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुँदै अहिले एमालेसम्ममा परेका बताएका छन् ।
उनले उपचारको क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याको कारण डाक्टरहरुको सल्लाहमा आफू आज केहि दिनका लागि देश बाहिर जान लागेको पनि बताएका छन् । थप उपचारका लागि भारत जानुअघि एमाले वरिष्ठ नेता माधव नेपाल, महासचिव ईश्वर पोखरेल लगायतका नेताहरु खनालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नर्भिक अस्पताल पुगेका थिए ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । उनी बुधबार साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली प्रस्थान गरेका छन् । नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो । उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो । उनको ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको थियो ।
उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो । २ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको थियो । दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको पनि अस्पतालको विज्ञप्तिमा उल्लेख छ । नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको छ । उनको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।