१५ बैशाख २०८१, शनिबार
Follow Us

भारी वर्षाको सम्भावना कायमै

नेपालब्रिटेन संवाददाता
५ असार २०७८, शनिबार ०४:३८

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकभर घामपानीको अवस्था रहे पनि अझै केही दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । मौसमविद् शान्ति कँडेलका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको सम्भावना कायमै छ ।

अन्यत्र भने हल्कादेखि मध्यम वर्षा हुने अवस्था देखिएको छ । महाशाखाका अनुसार आज, भोली र पर्सी प्रदेश १, गण्डकी, लुम्बिनी, बागमती र पश्चिमी भू–भागमा भारी वर्षाको सम्भावना छ । भोलि केही भेगमा भने अति भारी वर्षा पनि हुनसक्ने भएकाले सतर्क रहन भनिएको छ । एक साता लगातारको वर्षाले पहाडी भेगको माटो भिजिसकेको छ ।

त्यसैले पनि रोकिँदै फेरि वर्षा हुँदा हल्का वर्षाले पनि भेल पहिरो र सुख्खा पहिरो जानसक्ने महाशाखाको भनाइ छ । महाशाखाले पहाडी भेगमा थप सावधानीको आवश्यकता रहेको जनाएको छ । वर्षाको क्रम जारी नै रहेकाले खहरे र साना खोलमा आकस्मिक बहाव र ठूला नदीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन भनिएको छ ।

अहिलेसम्म बाढीपहिरोबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । सिन्धुपाल्चोकको मेलम्ची बस्तीमा पसेको बाढीबाट बेपत्ता भएका २० जना अझै फेला परेका छैनन् । नेपाल प्रहरीका अनुसार बाढीपहिरोमा फसेका मध्ये सिन्धुपाल्चोकमा ९४ जना र सल्यानबाट आठ जना गरी १०२ जनाको उद्धार गरिएको छ ।

यस्तै बाढीका कारण चार दिनको अवधिमा एक सय ९९ वटा घर डुबानमा परेका छन् । एक सय ३८ घर, ११ गोठ, १२ पुल, विद्यालय र सातवटा सरकारी कार्यालयमा पूर्ण क्षति पुगेको छ ।

बाढीपहिरोका कारण एक हजार ७ सय ६० जना विस्थापित भएका छन् भने ५१६ वटा पशु चौपाय मरेका राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ ।