भक्तपुर । नेपालका लागि नयाँ चरा प्रजातिको साइबेरियन स्यान्ड प्लोभर चरा पहिलो पटक भक्तपुरमा भेटिएको छ । मध्यपुर थिमी नगरपालिकाको मनोहरा फाँटमा भेटिएको उक्त चरालाई नेपालीमा ‘साइबेरियाली राजपुत्रिका’ नाम दिइएको छ ।
समुद्री सतहदेखि १ हजार ३१९ मिटर उचाइमा पहिलोपटक भेटिएको चराविद् कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेले बताए । उनीहरूले फोटो खिचेर प्रारम्भिक पहिचान गरेपछि नेपाल बर्ड रेकर्ड कमिटीमा विवरण पेश गरेका थिए ।
अन्तर्राष्ट्रिय पन्छीविद्सँगको परामर्श र विवरणको गहिरो अध्ययनपछि यसलाई नेपालका लागि नयाँ प्रजातिको रूपमा पुष्टि गरिएको कमिटीका अध्यक्ष डा. तुल्सी सुवेदीको भनाइ छ । साइबेरियाली राजपुत्रिकाको मूल वासस्थान साइबेरिया हो ।
यो बसाइँ सर्ने क्रममा चीन, जापान, कोरिया, इन्डोनेसिया, अस्ट्रेलिया, हङकङ, मलेसिया, र टिमोरसम्म पुग्ने गरेको पाइएको छ। अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्गठनको रेड लिस्ट अनुसार यो चरा लोपोन्मुख प्रजातिमा पर्दछ । नयाँ अभिलेखसँगै हालसम्म नेपालमा पाइएका चराको संख्या ९०२ पुगेको छ ।