१५ बैशाख २०८१, शनिबार
Follow Us

संक्रमणमुक्त हुनेको संख्या बढी

नेपालब्रिटेन संवाददाता
५ असार २०७८, शनिबार १२:३६

काठमाण्डौ । पछिल्ला दिनहरुमा नयाँ संक्रमित हुने भन्दा संक्रमणमुक्त हुनेको संख्या बढी रहेको तथ्यांकले देखाउँछ । गत जेठ यता लगातार रुपमा संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा छ । एक महिनामा २ लाख भन्दा बढि कोरोना संक्रमित निको भएका छन् ।

यसैगरी कूल संक्रमितमध्ये हालसम्म ५ लाख भन्दा बढि निको भएका छन् । विगत केहि साता यता संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको र कोरोना संक्रमणबाट मृत्यु हनेको संख्यामा पनि उल्लेख्य सुधार आएको स्वास्थ्य मन्त्रालयको भनाई छ ।

नेपालमा हालसम्म ३२ लाख ५५ हजार भन्दा बढिको पीसीआर तथा १ लाख ३३ हजार भन्दा बढिको एन्टीजेन परीक्षण गरिएको छ । यसमध्य आरटी पिसीआरबाट देखिएको संक्रमितको संख्या १९ प्रतिशत रहेको छ । साथै निको हुनेको दर ८९ प्रतिशत छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको एक महिनाको तथ्यांक केलाउँदा जेठ महिनाको सुरुवाती अवस्थामा भन्दा हाल संक्रमण दर आधाभन्दा कम रहेको पाइन्छ । कोरोना संक्रमितको संख्यामा कमी हुदै गएको देखिए पनि विभिन्न नयाँ प्रकृतिको भाइरस समेत देखिएका कारण जोखिम भने कम नभएको स्वास्थ्य मन्त्रालयको भनाई छ । चिकित्सकहरुले भने संक्रमितको संख्या घटे पनि जोखिम भने अझै कायमै रहेको बताउदै सतर्कता अपनाउन आग्रह गरेका छन ।