१५ बैशाख २०८१, शनिबार
Follow Us

गोरखामा सहुलियत दरको चामल खरीद गर्नेको भिड

नेपालब्रिटेन संवाददाता
५ असार २०७८, शनिबार १२:३९

गोरखा । खाद्य तथा ब्यापार कम्पनी लिमिटेड गोरखा शाखाबाट दुई साताको बिचमा साढे ४ सय क्विन्टल चामल बिक्री भएको छ ।

निषेधाज्ञाका कारण प्रभावित बनेकाहरुलाई लक्षित गरी कम्पनीले जेठ २३ गतेबाट सहुलियत दरमा चामल बिक्री शुरु गरेको हो । हालसम्म ४ सय ४६ क्विन्टल चामल बिक्री भएको कम्पनीका शाखा प्रमुख नविन बस्नेतले बताउनुभयो ।

शाखा कार्यालयमा चामल खरीद गर्न आउनेको संख्या अझै पनि उच्च रहेको उहाँले बताउनुभयो । २० प्रतिशत छुटमा बिक्री गर्दा पनि दुई साताका विचमा २५ लाख रुपैयाँ मूल्यको चामल बिक्री भएको बस्नेतले जानकारी दिनुभयो । शाखाको गोरखा सदरमुकामस्थित डिपोमा सोना मनसुली र मकवानपुरे चामल १ हजार ८६ क्विन्टल मौज्दात रहेको छ ।

यस्तै सिर्दिवास डिपोमा २ शय ७३ र माछिखोला डिपोमा १ सय ४९ क्विन्टल चामल बाँकी रहेको कम्पनीले जनाएको छ । कम्पनीले गोरखा सदरमुकामसहित उत्तरका दुई डिपोबाट निषेधाज्ञा अवधिभरका लागि २० प्रतिशत छुटमा चामल बिक्री थालेको हो ।

छुट मूल्यअनुसार ५१ रुपैयाँ ३० पैसामा बिक्री हुँदै आएको सोना मनसुली चामल प्रतिकेजी ४१ रुपैयाँ ४ पैसामा बिक्री गरिएको छ । ६४ रुपैयाँ प्रतिकेजी बिक्री हुँदै आएको स्टिम जिरा मसिनो चामल ५१ रुपैयाँ २० पैसामा विक्रि भएको छ ।

कार्यालयमा अब मकवानपुरे र सोना मन्सुली चामल मात्र स्टक रहेको बस्नेतको भनाई छ । ४९ रुपैयाँमा बिक्री हुँदै आएको मकवानपुरे चामल ३९ रुपैयाँ २० पैसामा बिक्री भैरहेको बस्नेतले बताउनुभयो ।

परिचय खुल्ने कागजपत्रका आधारमा प्रतिपरिवार १ बोरा मात्र चामल उपलब्ध गराउने कम्पनीले जनाएको छ । सदरमुकामको गोदामबाट यसअघि फाट्टफुट्ट मात्र चामल बिक्री हुँदै आएको थियो । तर अहिले मुल्यमा छुट भएपछि खरिदकर्ताहरु बढेका छन् ।