२३ बैशाख २०८१, आईतवार
Follow Us

विदेशबाट फर्किनेहरू सीधै घर जान पाउने

नेपालब्रिटेन संवाददाता
१४ असार २०७८, सोमबार ११:०९

काठमाडौं । विदेशबाट कोरोनाविरुद्धको पूरा डोज लगाएर हवाई मार्ग हुँदै नेपाल आउने यात्रु अब सीधै घर जान पाउने भएका छन् ।

सरकारले ‘विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश,२०७८’मार्फत सो व्यवस्था गरेको हो । नयाँ प्रावधान अनुसार दुवै खोप लगाएकालाई स्व(क्वारेन्टिनमा १० दिनसम्म बस्ने गरी जान दिइने जनाइएको छ ।

कोरोनाका कुनै पनि लक्षण नदेखिएका तर, खोप नलगाएका यात्रुलाई सात दिनसम्म निजले बुक गरेको वा सरकारले तोकेको होटलमा बस्नु पर्नेछ । साथै, विदेशबाट आउने प्रत्येक यात्रुले ७२ घण्टाभित्र गरिएको पीसीआर परीक्षणको नेगेटिभ नतिजा आएको हुनुपर्नेछ ।

बेखर्ची र आर्थिक अवस्था कमजोर भएका भनी सिफारिस गरिएका व्यक्तिले भने क्वारेन्टिनमा बसेको खर्च सरकारले नै व्यहोर्ने छ । यस व्यवस्था अन्तर्गत ज्येष्ठ नागरिक, पाँच वर्षमुनिका बालबालिकाको हकमा भने एन्टिजिन परीक्षण गरी परिक्षण नेगेटिभ आएमा कम्तीमा १० दिन स्थानीय तहको अनुगमनमा ‘होम क्वारेन्टिन’ बस्नेगरी पठाउन सक्नेछ ।

सरकारी र कूटनीतिक नियोगका कर्मचारीले भने सरकारले लगाएको यो नियममा बाँधिनुपर्ने छैन । सरकारी कामको सिलसिलामा विदेश गएका नागरिक, नेपाली नियोगबाट नेपाल फर्कर्ने कर्मचारी र उसको परिवारले भने कोरोना परीक्षण नेगेटिभ आएमा १० दिनको होम क्वारेन्टिनमा बस्ने अनुमति दिइएको छ ।