२२ बैशाख २०८१, शनिबार
Follow Us

झलनाथको उपचार खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो: गगन

नेपालब्रिटेन संवाददाता
२६ असार २०७८, शनिबार ०७:३१

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले राज्यको ढुकुटीबाट विदेशमा उपचार गर्ने जोसुकैलाई एक रुपैयाँ पनि निकासा दिन नमिल्ने बताएका छन् ।

पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सामाजिक सञ्जालमार्फत कानुन लागु भइसक्दा पनि सरकार यसको उल्लङ्घनमा लागेको आरोप लगाए ।

एमाले नेता एवम् पूवै प्रधानमन्त्री झलनाथ खनालको भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा लागेको उपचार खर्च सुरुमा एमाले पार्टीले नै गर्ने निर्णय भएको थियो । पछि उनको उपचार खर्च सरकारले तिर्ने निर्णय गरेको थियो । सोही निर्णयबारे शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले विरोध जनाएका हुन् ।

“उच्च ओहदामा बसेकाहरूले विदेशमा उपचार गराउँदा स्वास्थ्य मन्त्रालयले सिफारिस गर्ने र मन्त्रीपरिषद्ले निर्णय गर्ने प्रचलन थियो । यो गलत छ भनेर कार्यविधि बनाएर रोक्ने प्रयास गर्‍यौँ र मन्त्रालयबाट एक जनाको पनि सिफारिस गरेनौँ । तर, पनि प्रमको ठाडो प्रस्तावमा राज्यकोषबाट उपचार खर्च दिने काम रोकिएन,” थापाले लेखेका छन् ।

यसका लागि कानुन नभइ नहुने देखेपछि आफैँ लागेर कानुन संसोधन गरेको उनको भनाइ छ । “कानुन नबनेसम्म यस्तो काम बन्द हुँदैन भन्ने ठानेर २०७४ सालमा ओली सरकारले ल्याएको जनस्वास्थ्य विधेयकमा मैले नै ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नु परेमा सोको लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’भन्ने संशोधन प्रस्ताव राखेँ,” उनले भने, “यो संशोधन संसदले स्वीकार्दै बनेको कानुन २०७५/६/२ गतेदेखि लागु भयो । कानुनले स्पष्ट भन्छ जहाँ जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई सरकारको ढुकुटीबाट विदेशमा उपचार गरेको १ रुपैयाँ पनि तिर्न मिल्दैन । प्रधानमन्त्री ओली अब भन्नुस् पूर्वप्रधानमन्त्रीको खर्च व्यहोर्ने निर्णय कुन कानुनमा टेकेर गर्नुभयो ?”