२० बैशाख २०८१, बिहीबार
Follow Us

कांग्रेस क्रियाशील सदस्यता वितरणमा लफडा

नेपालब्रिटेन संवाददाता
४ श्रावण २०७८, सोमबार १५:४२

काठमाडौं । महाधिवेशनको मिति नजिकिए पनि कांग्रेस विवादको केन्द्रमा रहेको क्रियाशील सदस्यताको विषयले अझै निकास पाउन सकेको छैन । वडा अधिवेशन आउन ८ दिन बाँकी रहँदा विवाद छानबिन समितिले अन्तिम कार्यसूची तयार गर्न सकेको छैन भने तराईका अधिंकाश जिल्लाका कार्यकर्ता केन्द्रीय कार्यालयमा धर्ना तथा अनसन बस्न थालेका छन् । क्रियाशील सदस्यता वितरणमा आफूहरू अन्यायमा परेको भन्दै बाराका कांग्रेस कार्यकर्ताहरू धर्नामा बसेको ९ दिन भयो ।

पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्रविपरीत नयाँ क्रियाशील सदस्यता वितरण गरेको भन्दै वडा सभापति, विद्यार्थी नेता, क्षेत्रीय, स्थानीय तहका जनप्रतिनिधि तथा पूर्व सांसदहरू यतिवेला केन्द्रीय कार्यालय सानेपाभित्रै धर्नामा बसेका छन् । तर, क्रियाशील छानबिन समिति तथा शीर्ष नेतृत्वले एउटा कानले सुन्ने अर्को कानले उडाइरहेको छ ।

बाराबाट संविधासभा सदस्य भएका रामअयोध्याप्रसाद यादव आफूहरूले न्याय नपाए आमरण अनशसनसमेत बस्ने बताउनुहुन्छ । १५ दिनदेखि पार्टी कार्यालयमा धर्ना बस्नुभएका उहाँ लगायका नेताहरू आफूमाथि अन्याय भएको बताइरहेका छन् ।

समस्या बाराको मात्र होइन, धनुषाको पनि उस्तै छ । संविधान सभा सदस्य डाक्टर चन्द्रमोहन यादव, महासमिति सदस्य रामपल्टन यादव लगायतका नेताहरू आमरण अनसनमा बसेको पनि दुई दिन भयो । जिल्लाको ३४ वटा वडामा विवाद छ । आफू अनुकुल क्रियाशील सदस्य वितरण नहुँदा तहगत सभापतिहरूले हस्ताक्षर गरेका छैनन भने आफू इतरको नाम कटौती गरेको आरोप अनसनकारीको छ ।

बारा र धनुषा मात्र होइन, सर्लाहीका असन्तुष्ट कार्यकर्ता पनि बीपी स्मृती भवन, सानेपामा डेरा जमाएर बसेका छन् । सर्लाहीको समस्या पनि उस्तै छ । विजयकुमार गच्छदारबाहेकका क्रियाशील सदस्यहरूको सदस्यता नविकरण गर्नुपर्नेमा पार्टी सभापति मनलाग्दी गरेको नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति लक्ष्मण राय बताउनुहुन्छ ।