२३ बैशाख २०८१, आईतवार
Follow Us

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता, मन्त्रिमण्डल विस्तारको तयारी

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७८, बिहीबार ०६:२१

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बिहीबार बिहान प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा झन्डै एक घन्टा भेटवार्ता भएको हो ।

देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहेपनि गठबन्धनभित्रका दलहरुको आन्तरिक किचलोका कारण ढिलाइ हुँदै आएको छ ।

बुधबार बालुवाटारमा बसको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरेका थिए ।

जबाफमा दुवै नेताले आफ्नातर्फबाट मन्त्री हुने नेताको नाम दिने बताएका थिए । सोही अनुसार प्रचण्डले आज देउवालाई आफ्नो पार्टीबाट मन्त्री बनाउन लागिएका नेताहरुको नाम प्रधानमन्त्री देउवालाई बझाएको बुझिएको छ ।