२३ बैशाख २०८१, आईतवार
Follow Us

देउवा सरकारमा सहभागी हुने मन्त्रीबारे चर्चा

नेपालब्रिटेन संवाददाता
१४ श्रावण २०७८, बिहीबार १३:४७

जसपाभित्र देउवा सरकारमा सहभागी हुने मन्त्रीबारे चर्चा सुरु भएको छ । पार्टी कार्यालयदेखि नेताको निवाससम्म नेता तथा कार्यकर्ताको चहल पहल बढेको हो । विहिबार बिहानैदेखि उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्री चयनको विषयमा छलफलमा ब्यस्त भए । भने केही नाम प्रस्ताव गरेर अनुमोदनका लागि केन्द्रीय कार्यकारिणी समितिको पठाइएको बताइएको छ ।

तुलसी अमात्य स्मृति भवनमा जारी बैठकले मन्त्रीको ढुंगो लगाउने तयारी गरिएको छ । मन्त्रीमा उपेन्द्र यादवसहित महेन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रेणु यादव, प्रदीप यादव, इस्तियाक राई, रानी मण्डल, प्रमोद साह, अमृत अग्रहरीलगायतको नाम प्रस्ताव गरेको स्रोतले बतायो । यसपटक पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा जान नहुने तर्क सबभन्दा बढी उठेको छ ।

डा. बाबुराम भट्टराई, राजेन्द्र श्रेष्ठ, रेणु यादवलगायतका नेताहरुले उपेन्द्र यादव सरकारमा सहभागी नहुँदा नै राम्रो हुने तर्क राखेको बैठकमा सहभागी एक नेताले बताए ।

मन्त्रालय बाँडफाँडमा सहमति, कांग्रेस ८, माओवादी केन्द्र र जसपा सात–सात
सरकार विस्तारमा अस्वाभाविक ढिलाइ भइरहेको चर्चा चलिरहेका बेला सत्तारुढ गठबन्धनले सरकारमा सहभागी मन्त्रालयको भागबन्डा टुङ्गो लगाएको छ ।

गठबन्धनमा सहभागी दलको शीर्ष तहको छलफलपछि सरकारमा सहभागी दलहरूको मन्त्रालय सङ्ख्या भागबन्डा मिलाएको हो । छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो । माधव नेपाल पक्षलाई सरकारी तथा संवैधानिक नियुक्तिमा अधिकतम अवसर दिने गरी काँग्रेस र माओवादी र जनता समाजवादी पार्टीले मन्त्रालयको भागबन्डा मिलाएका छन् ।

सत्तारुढ गठबन्धनको बिहीबार बिहान बसेको बैठकले काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिएको जसपाका एक नेताले बताएका छन्।

उनका अनुसार बाँकी तीन राज्यमन्त्री बनाइने छ। कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइएको छ । एमाले वरिष्ठ नेता माधव नेपालको सहभागिताविनै मन्त्रिपरिषद्लाई पूर्णता दिने सहमति भएको हो ।