काठमाडौं। साना विदेशी लगानी नचाहिने भन्दै वैदेशिक लगानीको सीमा ५ करोड पुर्याएको सरकारले अंक घटाएर न्युनतम सीमा राजपत्रमा प्रकाशित गरेको छ। सरकारले राजपत्रमा सोमबार सूचना प्रकाशित गर्दै सीमा २ करोड रुपैयाँ बनाएको छ।
विदेशीका लागि न्युनतम सीमा तोकिए पनि गैरआवासीय नेपालीका हकमा सरकारले प्रक्रिया सहज बनाएको छ। वैदेशिक लगानीको न्युनतम सीमा २ करोड तोकिएको छ।
तर, नेपाल सरकार र गैरआवासिय नेपाली सयुक्त लगानीमा स्थापना हुने इन्भेष्टमेन्ट कम्पनीका हकमा भने यो सीमा लागू हुँदैन।
उद्योग सचिव तोयनारायण ज्ञवालीले मन्त्रिपरिषदबाट स्वीकृत सीमालाई राजपत्रमा प्रकाशित गरेका हुन्।
यसअघि वैदेशिक लगानीको सीमा ५० लाख थियो। केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा सीमा बढाएर ५ करोड पुर्याइएको थियो। साना विदेशी लगानी नचाहिने भन्दै सरकारले सीमा बढाए पनि लगानी आकर्षित भने हुन सकेन। ठुला लगानीको आस गर्दा साना लगानीको बाटो पनि बन्द भएपछि पछिल्लो सरकारले निर्णय फेरबदल गरेको हो।
नेपाल आउजाउमा व्यवसायीका नाताले पाइने सुविधा प्रयोग गर्न वैदेशिक लगानी स्वीकृत गराउने तर लगानी भने नल्याउने प्रवृत्ति बढ्दै छ। वैदेशिक लगानी स्वीकृति लिने धेरै र रियलाइजेसन कम हुन थालेपछि उद्योग विभागले विदेशी नागरिकलाई भिसा सहजीकरणमा कडाइ गर्न सुरु गरेको जनाएको छ।