मोदीसँगको संवादमा गुजराती भाषा बोलेर बालेनले दिएका थिए सरप्राइज
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ताका क्रममा गुजराती भाषामा संवाद गरेर भारतीय पक्षलाई आश्चर्यचकित बनाएको खुलासा भएको छ ।
प्रधानमन्त्रीका सल्लाहकार अशिम शाहले आइतबार सार्वजनिक गरेको एक लेखमार्फत उक्त खुलासा गरेका हुन् ।
शाहका अनुसार भारत भ्रमणका क्रममा प्रधानमन्त्री बालेन र भारतीय प्रधानमन्त्री मोदीबीच हैदराबाद हाउसमा करिब तीन घण्टा लामो छलफल भएको थियो । भेटवार्तामा औपचारिक विषयसँगै विभिन्न अनौपचारिक प्रसंगमा समेत कुराकानी भएको थियो ।
लेखमा उल्लेख भएअनुसार मोदीले नेपालप्रति आफ्नो विशेष अपनत्व रहेको बताउँदै नेपालबिना भारतका धाम तथा तीर्थस्थलहरू अधुरो रहने धारणा व्यक्त गरेका थिए । उनले नेपालबिना भारत पनि अधुरो रहने प्रसंगसमेत उठाएका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री बालेनले आफूसँग गुजराती भाषामा संवाद गरेको कुरा मोदीले दुवै देशका प्रतिनिधिमण्डलका सदस्यहरूसमक्ष सुनाएका थिए । त्यसपछि नेपाली टोलीका सदस्यहरू पनि आश्चर्यमा परेका थिए ।
प्रधानमन्त्रीको गुजराती भाषा ज्ञान नेपाली टोलीका लागि समेत अप्रत्याशित रहेको सल्लाहकार शाहले लेखमा उल्लेख गरेका छन् ।
त्यस्तै, भारतीय पक्षले प्रधानमन्त्री बालेनसहित नेपाली प्रतिनिधिमण्डलका सदस्यहरूबारे नजिकबाट अध्ययन गरेको अनुभव भएको पनि उनले बताएका छन् ।
भेटका क्रममा मोदीले प्रधानमन्त्री बालेनका पिता डा. रामनारायण शाहका नाममा आयुर्वेद चिकित्सालय स्थापना गर्न सुझाव दिएका थिए । उक्त सुझावप्रति प्रधानमन्त्री शाहले कृतज्ञता व्यक्त गरेका थिए ।
प्रधानमन्त्रीका पिता डा. रामनारायण शाह आयुर्वेद वैद्यखानाका प्रबन्ध निर्देशक, आयुर्वेद विभागका निमित्त महानिर्देशक तथा नरदेवी आयुर्वेद अस्पतालका आयुर्वेदिक चिकित्सकका रूपमा समेत कार्यरत रहेका थिए ।
यसैगरी, भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपाल र भारतबीच हरेक क्षेत्रमा सहकार्यका लागि ढोका खुला रहेको धारणा राखेको पनि सल्लाहकार शाहले उल्लेख गरेका छन् ।

