लण्डन । गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई महिनामा हुने निर्वाचनमा भाग लिन त्यहांस्थित गैरआवासीय नेपालीहरुले उत्साह देखाएका छन् । संस्थाभित्रको खिचलो र एमआईएस मार्फत सदस्यता वितरण गर्दा कम आवेदन आउने अपेक्षा विपरित करिब २५ सय जनाले सदस्यताको लागि आवेदन दिएका छन् ।
गैरआवासीय नेपाली संघका सचिव गंगाधार गौतमले संघको झन्झटिलो सदस्यता वितरण प्रणाली (एमआईएस) र संघमा आकर्षण छैन भन्ने बजार हल्ला बिपरित एनआरएनए बेल्जियमले आफुलाई अब्बल सावित गरेको बताए ।
निर्वाचन समितिको संयोजक समेत रहेका गौतमले सदस्यहरुको मताधिकारलाई सुरक्षित गरिने बताए ।
संघको नयां नेतृत्वको लागि अनुजा प्रधान, तिर्थ धमला, नारायण सिलवाल र सिता सापकोटाको नाम चर्चामा रहेको छ । गौतमका अनुसार प्रधान र सापकोटाबीच सर्वसम्मत नेतृत्व चयन गर्ने विषयमा आन्तरिक सहमति भैसकेको छ । जनसम्पर्क समिति बेल्जियम स्रोतका अनुसार समितिले अनुजा प्रधानलाई सर्वसम्मत उम्मेदवारको रुपमा अघि सार्ने तयारी गरेको छ ।
धमलाले त्यहांस्थित नेकपा माओवादी संगठन, राष्ट्रिय स्वतन्त्र पार्टी लगायत बिभिन्न संघसंस्थाहरुको समर्थन आफ्नो पक्षमा लिन प्रयासरत छन् । उनी संघको वर्तमान उपाध्यक्ष समेत हुन् ।
प्रधानको नाममा सर्वसम्मत बन्न नसके जनसम्पर्क समिति बेल्जियम सापकोटाको पक्षमा एकताबद्ध भएर उभिने निणर्य भएको बुझिएको छ ।
अन्तिम तथ्यांक अनुसार २४ सय ७३ जनाले एनआरएनए बेल्जियमको सदस्यत बन्न इच्छा देखाएका छन् । ती मध्ये २१२५ जनाको नाम प्रमाणीकरण भैसकेको छ। बांकिको प्रमाणीकरणको लागि प्रकृयामा रहेका छन् ।