काठमाडौँ । नेकपा (माओवादी केन्द्र) कोशी प्रदेशका अध्यक्ष हर्कबहादुर नेम्वाङले कोशी प्रदेशमा कांग्रेससँगले पटक पटक धोका दिएको अब भने सहकार्य भंग हुने बताएका छन् । बिहीबार भएको राष्ट्रियसभा निर्वाचनमा गठबन्धनबाट उम्मेदवार रहेकी चम्पा कार्की पराजित भएपछि नेम्वाङले कांग्रेससँग सहकार्य तोड्ने बताएका छन ।
उनले भने,‘गठबन्धनमा कांग्रेसले माओवादीलाई पटकपटक धोका दिएको छ । कांग्रेसकै कारण यसअघि संसदमा माओवादीले सभामुख गुमायो । अहिले पनि हाम्रा उम्मेदवार पराजित भएको । पार्टी नेतृत्वले केन्द्रमा सहकार्य भएपनि प्रदेशमा कांग्रेससँग सहकार्य भंग गर्छौँ ।’ कार्कीलाई पाँच हजार ८६ ले पराजित गरी एमालेकी रूक्मणि कोइराला विजयी भएकी छिन् ।
गठबन्धनसँग बहुमत हुँदाहुँदै कार्कीले जम्मा चार हजार ९९२ मत पाएकी छिन् । कोशीमा १७ जना स्थानीय तहका गठबन्धनका प्रतिनिधि ३ जना प्रदेश सांसद फलोर क्रस गरेका थिए ।
कोशीमा एमालेले राजनीतिक बेइमानी गर्यो : राप्रपा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय सभा निर्वाचन अन्तर्गत कोशी प्रदेशमा नेकपा एमालेले राजनीतिक बेइमानी गरेको प्रतिक्रिया दिएको छ । राप्रपाले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोसी प्रदेशमा राजनीतिक बेइमानी गरेको बताएको हो।
बिहीबार भएको राष्ट्रिय सभा निर्वाचनमा कोसी प्रदेशबाट सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका कृष्णप्रसाद सिटौला र प्रतिपक्षी गठबन्धनबाट एमालेकी रूक्मिणी कोइराला विजयी भएका थिए ।
प्रतिपक्षी गठबन्धनबाट राप्रपाका उद्धव पौडेललाई पराजित गरेर सिटौला निर्वाचित भएका थिए । महिला समूहबाट भने प्रतिपक्षी गठबन्धनकी कोइरालाले सत्तारुढ गठबन्धनकी चम्पा कार्कीलाई पराजित गरेकी थिइन् ।