काठमाडौँ । खानेपानी मन्त्रालय सचिव सुरेश आचार्यमाथि राष्ट्रिय सतर्कता केन्द्रले अनुसन्धान शुरु गरेको छ । पाँच जनाको निमन्त्रणमा ८ जनाको नेतृत्व गर्दै विदेश पुगेका सचिव आचार्यकै भ्रमणमा ‘कैफियत’ भेटिएसँगै केन्द्रले अनुसन्धान थालेको हो ।
कार्यक्रममा सहभागिताका लागि मन्त्रिपरिषदमा पठाउन मन्त्रीस्तरीय निर्णय भएको देखिए पनि मन्त्रिपरिषदबाट भएको निर्णय नभेटिएसँगै उनी सरकारको स्वीकृतिबेगर नै अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी भएको भेटिएको केन्द्रले जनाएको छ ।
‘त्यहाँ मन्त्रालयका सचिव श्री सुरेश आचार्य उक्त कार्यक्रममा सहभागिताका लागि मन्त्रिपरिषदमा पठाउन मन्त्री स्तरीय निर्णय देखिए पनि मन्त्रिपरिषद्को निर्णय देखिएन’ केन्द्रले खानेपानी मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ ‘यदि निज टोलीको प्रतिनिधित्व गरी जानुभएको हो भने निजले यात्राको क्रममा कुन राहदानी प्रयोग गर्नु भएको हो ? तथा निजको सो अवधिको हाजिरीको विवरणसहित भ्रमणको सम्पूर्ण विवरण उपलब्ध गराउनु हुन’
केन्द्रले सिडिई रजित ओझा र सिडिइ रवीन्द्र पोखरेललाई यूएनहेभिट्याटबाट गरिएको निमन्त्रणा पत्रसमेत पठाउन भनेको छ । साथै सङ्घीय खानेपानी आयोजना, महेन्द्रनगरका सिडिई देवेन्द्र झासमेत उक्त कार्यक्रममा सहभागी भएको बुझिएको भन्दै उनको सहभागिताको मनोनयन, टिप्पणीलगायत यात्राका क्रममा प्रयोग भएको राहदानी र हाजिरी विवरणसमेत मागिएको खानेपानी मन्त्रालय स्रोतले बतायाे ।