काठमाडौं । स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको रकमबाट जीबी राई र रवि लामिछानेले गाडी खरिद गरेको पाइएको छ । जिल्ला अदालत, काठमाण्डुमा दायर अभियोग पत्रमा जीबी र रविका नाममा गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको उल्लेख छ ।
पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेसहित ३९ जनाविरुद्ध सरकारी वकिलले आइतबार जिल्ला अदालत, काठमाण्डुमा मुद्दा दर्ता गरेको छ । त्यसक्रममा दायर अभियोग पत्रमा राई र लामिछानेले पहिलो पटक ४ भदौ २०७८ मा ४६ लाख ९८ हजार ऋण लिएको उल्लेख छ ।
सहकारीको सफ्टवेयरबाट प्रहरीले बरामद गरेको विवरणको कैफियत खण्डमा त्यो ऋण ‘फोर ह्वीलर लोन’ भएको उल्लेख छ । पछि १ पुस २०७८ मा फेरि सहकारीबाट दुई जनाको नाममा ऋण प्रवाह भएको छ, त्यसबेला ‘ईको ७ सिटर’ भ्यान खरिद गर्ने भनिएको छ ।
लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ ।‘निवेदनमा आफूहरुले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ, ‘७ सिटर इको भ्यान खरिद गरेर गाडी गोरखा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोरखा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि।को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि।मा रहेको खातामा भुक्तान गरेको देखिन्छ ।’
त्यस्तै लामिछाने समेतले गोर्खा मिडिया नेटवर्क प्रालि।का लागि आवश्यक पर्ने अन्य चारपांग्रे गाडीको लागि समेत सोही प्रक्रियाबाट स्वर्णलक्ष्मी सहकारीबाट ४६ लाख ४८ हजार रुपैयाँ कर्जा लिएको भनिएको छ ।