११ आश्विन २०८२, शनिबार
Follow Us

२१ औँ शताब्दीमा पनि १७ औँ शताब्दीजस्तो; सुन्दा अचम्म लाग्छ

nepalbritain news
२० पुष २०७४, बिहीबार ०३:००

बैतडी\हेटौंडा । बैतडीको डिलासैनी गाउँपालिका–३ रुद्रेश्वरकी वसन्ती बोहरा २० वर्ष पुगिन्। बिहेको उमेर नहुँदै दुई सन्तानकी आमा बनेकी वसन्तीले स्थायी परिवार नियोजन गरिसकेकी छन्। मकवानपुरको राक्सिराङ– ७ काँकडाका किशोरी आमा बच्चा बोक्दै। उनीहरूको ११ देखि १३ वर्षमै विवाह भएको हो।

सिगास गाउँपालिका–२ धौलाडीकी निर्मला धामीको बल्ल बिहे गर्ने बेला भयो । २१ लागेकी धामीका दुई सन्तान छन् । १६ वर्षमै बिहे भएकी उनले पनि स्थायी परिवार नियोजन गरेकी छिन्। ‘बिहेबारे थाहा नहुँदै आफ्नो बिहे भयो । धेरै सन्तान जन्माएर कसरी हुर्काउनु रु’ निर्मलाले भनिन्, ‘दुई छोराछोरी भएपछि अब नजन्माउने सहमतिमा बन्ध्याकरण गरेका हौं ।’

वसन्तीको १५ वर्षको उमेरमा ७ कक्षा पढ्दा बिहे भएको थियो । १६ वर्षमा पहिलो र १८ पुग्दा दोस्रो छोरा जन्मिएको हो । बिहेलगत्तै गर्भवती भएपछि उनले पढ्न पाइनन्। ‘१५ वर्षमा बिहे भयो, १८ वर्ष पुग्दा दुई छोरा जन्मिए, धेरै सन्तान नजन्माउने सोचले परिवार नियोजन गरेकी हुँ,’ वसन्तीले भनिन्, ‘पढेर जागिर गर्ने धोको अधुरै रह्यो।’

सरकारले २० वर्षमुनिको विवाह गैरकानुनी घोषणा गरे पनि यहाँ अझै कायम छ। मुलुककै ५औं बढी बालविवाह हुने बैतडीमा एक सर्वेक्षणका अनुसार ६० प्रतिशत किशोरीको १७ वर्ष नपुग्दै बिहे हुने गरेको छ । ‘बालिका दुलही हैनन्,’ नामक राष्ट्रिय अभियानले गरेको सर्वेक्षणमा ५९ दशमलव ४ प्रतिशत महिलाको १७ वर्ष नपुग्दै बिहे र १९ वर्षमै आमा बन्ने गरेको पाइएको थियो ।

बढी सन्तान जन्माउँदा शारीरिक र आर्थिक बोझका साथै पारिवारिक समस्या हुने भएकाले स्थायी परिवार नियोजन गरेको उनीहरू बताउँछन्। ‘गाउँमा ३० वर्षमा ४\५ सन्तान जन्माएका महिला स्थायी बन्ध्याकरण गराउन आउँछन्,’ जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्लीरमण जोशीले भने, ‘१५\१६ वर्षमै बिहे र २० वर्षमा आमा बनिसकेका धेरै छन्।’

यस्तै समस्या छ, मकवानपुरका चेपाङ बालिकामा। हेटौंडा उपमहानगरपालिकासँग जोडिएको गाउँँपालिकाकी एक चेपाङ बालिका १७ वर्षको उमेरमा तीन बच्चाका आमा बनिसकेकी छन् । उनी चौथो जन्माउने तरखरमा छिन्। सत्र वर्षकी बालिका मकवानपुर मनहरी गाविस–४ मुसेधापको जंगलमा सानो त्रिपालमुनि सात महिनादेखि ५ वर्षसम्मका दुई छोरी र एक छोरा च्यापेर बसेकी छन्। ११ वर्षमा गाउँकै १६ वर्ष उमेरका केटासंँग विवाह गरेकी निशा चेपाङले १२ वर्षको उमेरमा जेठी छोरी जन्माइन् । उनका ५ र २ वर्षका छोरी छन् भने काखमा ७ महिने छोरा छ।

– कान्तिपुर दैनिकबाट ।

धेरै पढिएको