काठमाडौं । एमाले प्रचार विभाग प्रमुख तथा स्थायी कमिटी सदस्य राजेन्द्र गौतमले केही सञ्चारमाध्यममा दोस्रो विधान महाधिवेशन सम्बन्धी गलत प्रचार गरेको भन्दै आपत्ति व्यक्त गरेका छन ।
महाधिवेशनको तेस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेस गरेका समूहगत नेताहरूको भनाई सार्वजनिक गर्ने क्रममा प्रचार विभाग प्रमुख गौतमले यस्तो बताएका हुन ।
उनले विधान संशोधनको मुख्य विषय उमेरहद र दुई कार्यकालको विषयलाई केही सञ्चारमाध्यमले गलत सूचना प्रवाह गरेको बताए । सात वटै भूगोल प्रदेशसहित दशवटै समूहका नेताहरूले भावी पार्टी नेतृत्व अध्यक्ष केपी शर्मा ओलीको विकल्प नभएको भनी प्रतिवेदन पेस गरेको समेत उनले जानकारी गराएका छन ।
उनले भने, ‘सात भूगोल र तीन गैर भूगोल समूहका नेताहरूले छलफलमा उठेका विषयलाई समावेश गरी बन्दसत्रमा प्रतिवेदन पेस गरिसक्नु भयो । दशवटै समूह नेताहरूले राष्ट्रपति, उपराष्ट्रपति मात्रै होइन संवैधानिक नियुक्ति पाएकालाई समेत पार्टीमा फर्किनु दिनु हुँदैन भन्ने विधानमै व्यवस्था गर्नुपर्छ भन्ने सुझाव दिनुभएको छ’,आइतबार दिउँसो मिडिया ब्रिफिङ गर्दै गौतमले भनेका छन् ।