२७ भाद्र २०८२, शुक्रबार
Follow Us

नेपाली सेनाद्वारा १३५ नाल हतियार बरामद : शंकास्पद वस्तु डिस्पोज र फरार कैदी नियन्त्रण

नेपालब्रिटेन संवाददाता
२७ भाद्र २०८२, शुक्रबार ०७:३२

काठमाडौं । नेपाली सेना तथा अन्य सुरक्षा निकाय परिचालन भएपछि देशभरको शान्ति–सुरक्षा अवस्था मजबुत बनाउन क्रमशः सफलता हासिल भइरहेको छ ।

सुरक्षा निकायले उपलब्ध गराएको तथ्याङ्कअनुसार २०८२ भदौ २६ गते साँझ ६ बजेदेखि २७ गते बिहान १० बजेसम्मको अवधिमा महत्त्वपूर्ण गतिविधिहरू सम्पन्न भएका छन् ।

झापाको भद्रपुर नगरपालिका–८ स्थित अस्पताल चोकमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले सुरक्षितरूपमा डिस्पोज गरेको छ । उक्त घटनाले स्थानीय क्षेत्रमा फैलिएको त्रास कम गर्न सहयोग पुगेको सेनाले जनाएको छ ।

त्यसैगरी, काठमाडौँको महाराजगञ्ज क्षेत्रबाट विभिन्न मोबाइल फोन र विदेशी मुद्रासहित दुई जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । उनीहरूको पृष्ठभूमि र गतिविधि सम्बन्धमा थप अनुसन्धान भइरहेको सुरक्षाकर्मीहरूले जनाएका छन् ।

यस्तै, धादिङको गजुरीस्थित धादिङ कारागारबाट भागेका कैदीहरूमध्ये ४३ जनालाई पुनः नियन्त्रणमा लिइएको छ । बाँकी फरार कैदीहरूको खोजी परिचालन भइरहेको सम्बन्धित निकायले जनाएको छ । यस अवधिमा विभिन्न स्थानबाट १३५ नाल हतियार बरामद भएको समेत सुरक्षा निकायको विवरणमा उल्लेख गरिएको छ ।

धेरै पढिएको