पेरिस । फ्रान्समा बजेट कटौतीलाई लिएर विरोध प्रदर्शन चर्केको छ । ट्रेड यूनियनहरूले बिहीबार आह्वान गरेको हड्तालमा लाखौं मानिसले सहभागिता जनाएका छन् । पेरिस, ल्योन, नान्तेस, मार्से, बोर्डो, टुलुज र काएनजस्ता शहरमा प्रदर्शनले सडक जाम समेत भएको हो ।
सरकारी तथ्यांकअनुसार यी प्रदर्शनमा ५ लाखभन्दा बढी मानिस सडकमा उत्रिएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यूनियनहरूले यो संख्या १० लाख रहेको दाबी गरेका छन् । प्रदर्शनका क्रममा केही स्थानमा ढुंगामुढा र अश्रुग्याँस प्रयोग भएको छ ।
प्रदर्शनमा सहभागी १४१ भन्दा बढी पक्राउ परेका छन् । कतिपय स्थानमा विद्यार्थीहरूले समेत राजमार्ग अवरुद्ध गरेका थिए । फ्रान्स सरकारले सन् २०२६ को बजेटमा करिब ५२ अर्ब डलर कटौती गर्ने योजना बनाएको छ । यसमा पेन्सन स्थगित गर्ने, स्वास्थ्य र शिक्षामा खर्च घटाउने, बेरोजगारी भत्ता कम गर्ने र दुई राष्ट्रिय बिदा हटाउने प्रस्ताव समावेश छ ।
जनताले यसलाई धनीहरूलाई राहत र गरीबहरूलाई बोझको रूपमा लिएका छन् । राष्ट्रपति इम्यानुअल म्याक्रोंनको नीतिहरूले आम नागरिकविरुद्ध र धनी वर्गको पक्षमा रहेको प्रदर्शनकारीहरूले ठहर गरेका छन् ।
हालै सेबास्टियन लेकोर्नुलाई पाँचौ प्रधानमन्त्री नियुक्त गरेपछि अस्थिरता र असन्तोष फ्रान्समा बढेको छ । प्रदर्शनलाई वामपन्थी राजनीतिक दलहरूले पनि समर्थन गरेका छन । सोसलिस्ट पार्टीले समेत समर्थन गरेको समाचारमा उल्लेख छ ।