अन्तराष्ट्रिय

हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी

काठमाडौं । मोचु उपबेसिनको सिन्ताफु तालमा हिमताल विस्फोटपछि भुटानमा आकस्मिक बाढी आएको छ। 

हिमताल विस्फोटबाट लाखौँ घनमिटर पानी बाहिरिएपछि भुटानको जल तथा मौसम विज्ञान राष्ट्रिय केन्द्रले नदी किनारका क्षेत्रहरूमा सुरक्षा सतर्कता र अनुगमन तीव्र पारेको छ। भारतका असम र पश्चिम बंगालका केही भागलगायत छिमेकी क्षेत्रहरूलाई पनि उच्च सतर्कतामा राखिएको छ। 

बाढीले गासा जिल्लाको छाचु क्षेत्र पूर्ण रूपमा बगाएको छ। मो छू नदीमा आएको बाढीले पुनाखा जिल्लास्थित सौर्य सिँचाइ प्रणालीमा समेत क्षति पुर्‍याएको छ। बाढीसँगै बगेर आएको ढुंगा, माटो र गेग्रानले जोमलिङथाङ क्षेत्रमा पुनाखा–गासा राजमार्गको एक खण्ड बगाएको छ।

त्यस्तै, लाया गेओगको सडकअन्तर्गत टोङचुद्राक खण्डको केही भाग बाढीले बगाएको छ। सडक अवरुद्ध भएपछि लाया क्षेत्र देशका अन्य भागसँगको सडक सम्पर्कबाट विच्छेद भएको भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस)ले जनाएको छ।

बाढीबाट अहिलेसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभएको बीबीएसले उल्लेख गरेको छ। रातिको समयमा बाढी आएकाले तत्काल क्षतिको पूर्ण विवरण संकलन गर्न कठिन भएको अधिकारीहरूले बताएका छन्। सुरक्षाकर्मी तथा सम्बन्धित निकायले प्रभावित क्षेत्रको अवस्था र नदीको जलस्तर निरन्तर निगरानी गरिरहेका छन्।

About the author
नेपालब्रिटेन डट कम

नेपालब्रिटेन डट कम