काठमाडौं । कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्दै आएको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम यस वर्ष नगर्ने भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनको क्रममा भएको जनधनको क्षति र नयाँ अकल्पनीय राजनीतिक घटनाक्रमका कारण यस वर्ष चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने निर्णय भएको कांग्रेसका एक नेताले जानकारी दिएका छन ।
युवाहरुको प्रदर्शनको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी आरजु राणामाथि कुटपिट हुनुका साथै घरमा आगजनी भएको थियो । साथै कांग्रेसको केन्द्रीय कार्यालयसहित अन्य नेताहरुका घरमा पनि आगजनी र तोडफोड भएको थियो ।
राष्ट्रपति भवन, संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत लगायत राज्यका तीनै अंगका सबै तहका भौतिक एवं प्रशासनिक सरचनाहरू, प्रहरी कार्यालयहरू लगायतमा पनि आगजनी र तोडफोड भएको थियो ।
७४ जनाको ज्यान गएको छ भने दुई हजार बढी घाइते छन् । नेपाली कांग्रेसले यसलाई ‘नेपालको इतिहासमा अत्यन्त अकल्पनीय र दुस्खद घटना’को रुपमा लिएको छ ।
त्यसैले यस्तो अवस्थामा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रम नगर्ने निर्णय लिइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका हुन।