७ कार्तिक २०८२, शुक्रबार
Follow Us

सुशीला कार्कीमाथि प्रश्न उठाउने अधिवक्ता नेपाललाई पक्राउ गर्ने तयारी

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०८२, मंगलवार ०७:०९

काठमाडौं । नेपालको राजनीतिक वृत्तमा एक नयाँ विवाद चर्किएको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीको कार्यकारी पदमा आसिन हुनु संविधानविपरीत भएको भन्दै नैतिक प्रश्न उठाउने अधिवक्ता स्वागत नेपाललाई प्रहरीको साइबर ब्युरोले पक्राउ गर्ने तयारी गरेको खुलासा भएको छ । अधिवक्ता नेपालले सामाजिक सञ्जालमार्फत आफूलाई ब्युरोले फोन गरी उपस्थित हुन भनेको जानकारी दिएका छन्, जसलाई उनले ‘तिहारपछि पक्राउ’ गर्ने योजनाको संकेतका रूपमा बुझेका छन् ।

अधिवक्ता नेपालले नेपालको संविधानको धारा ७६ ले गैरसांसदलाई प्रधानमन्त्री बन्ने छुट नदिने र धारा १३२ (२) ले प्रधानन्यायाधीश वा सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्ति सरकारी पदमा नियुक्तिका लागि ग्राह्य नहुने स्पष्ट व्यवस्था गरेको बताएका छन् । उनले पूर्वप्रधानन्यायाधीश भइसकेका व्यक्ति प्रधानमन्त्रीजस्तो कार्यकारी हैसियतमा बस्नु ‘संसारकै अनैतिकता’ भएको दाबी गरेका छन्। ‘आफ्नै विज्ञप्ति र निर्णयविपरीत उहाँ सांसदबाट पूर्वप्रधानन्यायाधीश भएर पनि प्रधानमन्त्री बन्नुभयो, संविधानबाहिरबाट,’ उनले भनेका छन् ।

नेपालले यसअघि पनि सबै दलका प्रधानमन्त्रीहरूको पालामा संविधानविपरीतका कार्य हुँदा नैतिकताको प्रश्न उठाएको र पक्राउ परेको स्मरण गराएका छन् । अहिले ‘जेनजी’ ले जायज माग उठाउँदा सुधार गर्नुपर्नेमा निरङ्कुशता लाद्न खोजिएको भन्दै उनले सरकारको कदमको आलोचना गरेका छन् । यसका साथै, अधिवक्ता नेपालले सुशीला कार्कीले विगतमा १० करोड घुसको सार्वजनिक गरेको प्रसङ्गलाई फेरि उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रहरीको फोनमा आफूले कुरा गर्दा ‘तिहार मनाउनुस्’ भन्ने जवाफ आएको भन्दै उनले तिहारपछि आफूलाई पक्राउ गर्ने तयारी भइरहेको बुझेको बताएका छन् । उनले आन्दोलनको मागलाई संविधानभन्दा बाहिरबाट समाधान गर्न खोज्नु जायज नहुने र अभिव्यक्ति स्वतन्त्रताविरुद्ध सुशीला कार्कीले चालेको कदम अघिल्ला सरकारहरूभन्दा पनि निरङ्कुश रहेको दाबी गरेका छन् ।

धेरै पढिएको