७ कार्तिक २०८२, शुक्रबार
Follow Us

अत्यावश्यक सेवाबाहेकका नर्सिङ सेवा बन्द गरिने

नेपालब्रिटेन संवाददाता
४ कार्तिक २०८२, मंगलवार ०७:११

काठमाडौं । नेपाल नर्सिङ संघले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार संघको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । पछिल्लो समय निजी अस्पताल तथा मेडिकल कलेजमा कार्यरत नर्सहरु कम पारिश्रममा लगाएर श्रम शोषण गरेको भन्दै आन्दोलित छन् ।

पत्रकार सम्मेलनमा नेपाल नर्सिङ संघकी कन्द्रीय अध्यक्ष चन्द्रकला शर्माले आन्दोलनका कार्यक्रम अनुसार कात्तिक ४ देखि ११ गतेसम्म देशभरिका सम्पूर्ण अस्पताल तथा स्वास्थ्य शैक्षिक संस्थाहरुमा कालो पट्टी बाँधेर काम गर्ने निर्णय भएको जानकारी गराइन । पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले कात्तिक १२ देखि १८ गतेसम्म दिनको दुई घण्टा बिहान १० देखि १२ बजेसम्म अत्यावश्यक सेवा वाहेकका नर्सिङ सेवा बन्द गर्ने भएको छ । यसैगरी, कात्तिक १८ गतेसम्म मन्त्रालयले गठन गरेको कार्यदलको प्रतिवेदन अनुसार थप कार्य तालिका प्रकाशित गरिने जानकारी दिइन ।

उनले नर्सले काम गरिसकेपछि उनीहरुको रोजिरोटीको लागि आवस्यक तलब सुविधा हुनुपर्ने भन्दै संघले त्यसैको लागि आन्दोलन गर्ने घोषणा गरेको बताइन ।

पत्रकार सम्मेलनमा अध्यक्ष शर्माले नेपालमा नर्सलाई श्रम ऐनले तोकेको पारिश्रमिकभन्दा कम तलब दिनु दुःखद भएको बताइन । उनले नर्सहरु श्रम ऐनमा नभई स्वास्थ्य सेवा ऐन अनुसारको पारिश्रमिक हुनुपर्ने बताइन ।

निजी तथा सरकारी स्वास्थ्य संस्थामा कार्यरत नर्सहरुको न्युनतम तलब सुविधा साथै अन्य पेशागत हकहितसम्बन्धी विभिन्न मागहरु राखेर उक्त मागको कार्यान्वयनका लागि संघले २०८२ वैशाख २५ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पेश गरेको थियो । यस्तै २०८२ असोज ३१ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा पहिलो पटक सरोकारवाला पक्षसँग उक्त मागहरुमा छलफल गरेको थियो ।

धेरै पढिएको