१६ कार्तिक २०८२, आईतवार
Follow Us

अमेरिकाका हर्मित सिंहले दोस्रो सिजन पनि सुदूरपश्चिमबाट एनपिएल खेल्ने

नेपालब्रिटेन संवाददाता
१६ कार्तिक २०८२, आईतवार १२:४५

काठमाडौँ । सुदूरपश्चिम रोयल्सले अमेरिकाका बलिङ अलराउण्डर हर्मीत सिंहलाई आगामी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि तेस्रो विदेशी खेलाडीको रूपमा अनुबन्ध गरेको छ।

यससँगै हर्मीतले लगातार दोस्रो सिजन पनि सुदूरपश्चिमबाट खेल्ने भएका छन्। गत सिजन उनले ५ खेलमा ८ विकेट लिएका थिए ।

उनी पहिलो सिजनको एनपीएलमा सबैभन्दा कम इकोनोमीमा बलिङ गर्ने खेलाडी हुन् ।

आफ्नो अनुबन्धमा खुशी व्यक्त गर्दै हर्मीतले भने, ‘म नेपाल प्रिमियर लिगमा फेरि एक पटक फर्किँदै छु। गत सिजनको अधुरो कामलाई यसपटक पूरा गर्नु छ। समर्थकहरूसँग छिट्टै भेट हुनेछ।’

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० प्रकाश खड्काले हर्मीतको आगमनले टिम झनै बलियो बन्ने विश्वास व्यक्त गरे।

३२ वर्षीय हर्मीत बाँयाहाते बलर हुन् र बाँयाहाते ब्याटिङ पनि गर्छन् । उनले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा २५ खेलमा २४ विकेट लिएका छन् भने ब्याटिङमा २३५ रन बनाएका छन् । अमेरिकाका लागि उनले २१ एक दिवसीय खेलमा ३१ विकेट लिएका छन् भने ३२५ रन बनाएका छन्।

हर्मीत सन् २०१२ को यू-१९ विश्वकप विजेता भारतीय टोलीका सदस्य थिए। उनले इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सका लागि समेत खेलेका छन् ।

सदूरपश्चिम रोयल्सको टोलीमा दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, विनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन र हर्मीत सिंह तथा मुख्य प्रशिक्षकमा जगत टमटा रहेका छन् ।

धेरै पढिएको