काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जुलाईमा नेपाललाई प्रदान गरेको महिला ट्वान्टी-२० विश्वकप छनोट प्रतियोगिताको आयोजना अधिकार अहिले अन्योलमा परेको छ । जनवरी १२ देखि फेब्रुअरी २ सम्म नेपालमा हुने भनिएको यो महत्त्वपूर्ण प्रतियोगिता देशको बदलिँदो परिस्थितिका कारण अनिश्चित बनेको छ । तथापि, सोमबारबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को सफलताले यसको भविष्य निर्धारण गर्ने नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले बताएका छन् ।
बंगलादेश, स्कटल्यान्ड, अमेरिका, थाइल्यान्ड, नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड्स, नामिबिया, जिम्बावे र पपुवा न्युगिनीजस्ता राष्ट्रहरूले सहभागिता जनाउने यो छनोट प्रतियोगिता नेपालका लागि ठूलो अवसर हो। सचिव खड्काका अनुसार आईसीसीले एनपीएलको नतिजालाई नजिकबाट नियालिरहेको छ । ‘एनपीएल कसरी सञ्चालन हुन्छ, त्यसपछि मात्र नेपालले महिला ट्वान्टी-२० विश्वकप छनोट आयोजना गर्ने निश्चित हुन्छ,’ खड्काले भने, ‘देशको पछिल्लो स्थितिका कारण यो स्थिति आएको हो । एनपीएल भव्य रूपमा सफल भएमा नेपाल सामान्य अवस्थामा रहेको प्रमाणित हुन्छ र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न नेपाल सक्षम छ भन्ने सन्देश जानेछ ।’
क्यानले एनपीएलको दोस्रो संस्करणबाट करिब ४० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानका कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार प्रायोजकबाट १५ करोड ४० लाख, आठ फ्रेन्चाइज टिमको नवीकरण शुल्कबाट ९ करोड, ओटीटी प्रसारण अधिकारबाट ५ करोड ३० लाख, स्थानीय टेलिभिजनबाट १ करोड र टिकट बिक्रीबाट ८ देखि १२ करोड रुपैयाँ आम्दानी हुने अनुमान छ । ओटीटी सदस्यता शुल्क ३ सय रुपैयाँ तोकिएको छ भने स्टार स्पोर्ट्समा क्लिनफिड प्रसारण हुनेछ । नेपाली टेलिभिजन च्यानलमा भने विज्ञापन बज्नेछ ।
पुनर्निर्माणपछि त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरको दर्शक क्षमता ९ हजार ४ सय ५० पुगेको छ । क्यानले दैनिक यही संख्यामा टिकट बिक्री गर्ने जनाएको छ । एनपीएल दौरान कुनै विरोध कार्यक्रम भएमा काठमाडौँ बाहिर गर्न क्यानले अनुरोध गरेको छ ।
एनपीएलको पुरस्कार राशि यथावत् राखिएको छ । गत संस्करणको विजेता जनकपुर बोल्ट्सले १ करोड ११ लाख र उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ प्राप्त गरेका थिए । तेस्रो र चौथो भएका कर्णाली याक्स र चितवन राइनोजले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ पाएका थिए ।
नेपाली क्रिकेट इतिहासमा पहिलो पटक फ्लडलाइटमा खेलिने एनपीएलका लागि सबै तयारी पूरा भएको क्यानले जनाएको छ । सोमबार उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजको सामना गर्नेछ ।