फुङलिङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोडभन्दा बढिको क्षति भएको छ । मङ्गलबार मध्यराति बजारका चार वटा घरमा आगलागी भएर पूर्ण रुपमा नष्ट हुँदा एक करोड १८ लाख रुपियाँभन्दा बढिको क्षति भएको हो ।
स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नु भएका इन्द्र कुमार लिम्बू, राजकुमार लिम्बू, अनिल लिम्बू र विष्णुप्रसाद लिम्बूको घर जलेर पूर्ण रुपमा नष्ट हुँदा उक्त रकम बराबरको क्षति भएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले जानकारी दिनुभयो । प्रारम्भिक विवरण अनुसार सबैभन्दा बढि राजकुमार ५० लाख रुपियाँ बराबरको क्षति भएको छ । प्रजिअ सेँढाइका अनुसार इन्द्रकुमारको घर जलेर नष्ट हुँदा ४३ लाख, अनिलको २० लाख र बिष्णुप्रसादको पाँच लाख रुपियाँ बराबरको क्षति भएको छ ।
आगलागीबाट इन्द्रकुमार घरमा डेरा गरी बस्नु भएका दोर्ची शेर्पाको २५ मन अलैँची समेत जलेर नष्ट भएको छ । आगलागीबाट नै दुई ओटा मोटरसाइकल, सुनचाँदी, नगद, पशु चौपाया, लत्ताकपडा, खाद्यान्न लगायतका आवश्यक कागजात समेत जलेर नष्ट भएको प्रहरीको भनाइ छ ।
रातको समय भएकाले कुनैपनि सामग्री निकाल्न नपाएको र नियन्त्रणका लागि दमकल पानीको समेत अभाव भएकाले बढि क्षति भएको स्थानीयको भनाइ छ । आगो बिहान साढे ५ बजे मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । पार्किङ गरी राखिएको मोटरसाइकलबाट आगलागी सुरु भएको बताइए पनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।