पाल्पाको रानीमहलको अवलोकन भ्रमणमा हिँडेका विद्यार्थी बोकेर आएको एउटा बस आज बिहान दुर्घटनामा परेको छ । विद्यार्थी बोकेर आएको बस दुर्घटनामा पर्दा ११ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यलय पाल्पाले जानकारी दिएको छ ।
दाङको राजपुरस्थित साधारण नमुना माविबाट विद्यार्थी लिएर पाल्पा भ्रमणका लागि आएको ना–५ ख १०८९ नम्बरको बस बिहान करिब ६ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । रानीमहल जाने क्रममा तानसेन नगरपालिका–१३ बैकण्ठे भिर नजिकै बस अनियन्त्रित भएर बस सडकको भित्तामा ठोक्किन पुगेको पाल्पाका डीएसपी होम प्रकास चौधरीले जानकारी दिएका छन ।
दुर्घटनामा परी घाइते हुनेहरूमा दाङ राजपुर गाउँपालिका–४ का ४० वर्षीय शत्रुघन गुप्ता, घोराही उपमहानगरपालिका–११ का २२ वर्षीय दामोदर रेउले, बस चालक घोराही–१४ का ३५ वर्षीय सन्तोष ढकाल, राजपुर गाउँपालिका–५ की १२ वर्षीय सन्ध्या भण्डारी, राजपुर गाउँपालिका–६ की १८ वर्षीय दिल कुमारी रावत छन् ।
यसैगरी राजपुर–६ की १० वर्षीय सन्तोषी चौधरी, १९ वर्षीय अजय नेपाली, राजपुर–५ की २३ वर्षीय सिर्जना यादव, १३ वर्षीय आयूष भण्डारी, १५ वर्षीय अभिषेक यादव र घोराही–९ का ३५ वर्षीय बसन्त योगी सामान्य घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि मिसन अस्पताल तानसेन पठाएको प्रहरीले जनाएको छ ।