लण्डन । वेलायतस्थित क्याम्ब्रिज क्राउन कोर्टले बलात्कार तथा यौन दुराचार गरेका अभियोगमा एक नेपालीलाई दीर्घकालीन काराबासको सजाय सुनाएको छ।
काठमाण्डौं पुर्ख्यौली घर भएका र हाल पिटरबरो निवासी ४९ वर्षीय ढकाललाई सात जना बालिका र एक महिलामाथि यौन दुराचार गरेको अभियोगमा सजाय सुनाइएको हो। उनीमाथि ८ वर्षीया बालिकासमेत बलात्कार गरेको आरोप थियो।
अदालतका अनुसार ढकाल २५ वटा यौन अपराधमा दोषी ठहर भएका छन्। अदालतले उनलाई २५ वर्षको कैद तथा थप ८ वर्ष ‘लाइसेन्स अवधि’ (निरन्तर कानुनी निगरानी) सहितको सजाय सुनाएको हो।
उनले गरेका अपराधहरूमा १३ वर्षमुनिका बालिकामाथि पाँच पटक बलात्कार, १३ वर्षमाथिका बालिकामाथि दुई पटक बलात्कार तथा अन्य यौन दुराचारका घटना समावेश छन्। बिबिसीका अनुसार अधिकांश अपराध पिटरबरोमै भएका थिए भने एक पीडितलाई लन्डनमा गएर दुराचार गरिएको थियो।
न्यायाधीश मार्क बिशपका अनुसार, यसअघि कुनै पनि अपराधमा संलग्न नरहेका ढकालले अदालतमा सबै आरोप अस्वीकार गरेका थिए। ढकाल विगत केही वर्षदेखि पिटरबरो क्षेत्रमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए।
पिटरवरो नेपाली समाजका पूर्वअध्यक्ष महेश अधिकारीका अनुसार ढकाल विगतमा कुनै सामाजिक गतिविधिमा सक्रिय थिएनन्। उनले ढकाल पिटरवरो नेपाली समाजको सदस्यसमेत नरहेको पुष्टि गरे।