काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विदेशमा रहेका नेपाली नागरिकले आगामी निर्वाचनमा मतदान गर्न पाउने सम्भावना नरहेको स्पष्ट पारेका छन् । सोमबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा निर्वाचनको तयारीका विषयमा आयोजित सर्वपक्षीय छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पुनले यस्तो निराशाजनक प्रतिक्रिया दिएका हुन्
। प्रधानमन्त्रीले दलका नेता, निर्वाचन आयोग र सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गरे पनि उक्त बैठक उपलब्धीविहीन भएको मन्त्री पुनको निष्कर्ष छ । बैठकको नतिजाप्रति असन्तुष्टि व्यक्त गर्दै मन्त्री पुनले ठट्यौली मिश्रित आक्रोश पोखे । उनले भने, ‘नेपालीको सल्लो, खरानीको डल्लो ! आजको सल्लाह पनि खरानीको डल्लाजस्तै भयो ।’
सरकार र सरोकारवालाहरूबीच लामो छलफल भए पनि विदेशमा बस्ने नेपालीको मताधिकार सुनिश्चित गर्ने विषयमा कुनै ठोस सहमति वा बाटो नखुलेको उनले संकेत गरे । उनले अब विदेशमा बस्ने नेपालीहरूले आफ्नो अधिकारका लागि आफैं अभियान थाल्नुपर्ने सुझाव समेत दिए । ‘विदेशमा बस्नेले भोट दिन पाउने अवस्था छैन, अब के के अभियान चाल्नुपर्ने हो, तपाइँहरूले नै चाल्नुहोस्,’ मन्त्री पुनले भने ।