१० पुष २०८२, बिहीबार
Follow Us

एनआरएनए स्कटल्याण्डको सक्रियता: डेढ दर्जन संघ-संस्थाको भेला

नेपालब्रिटेन संवाददाता
१० पुष २०८२, बिहीबार १९:४८

लण्डन – गैरआवासीय नेपाली संघ, स्कटल्याण्डले हालै आफ्नो संघ–संस्थागत भेला आयोजना गरेको छ। भेलामा सामाजिक संघ–संस्थाबीच आपसी सहकार्य, समन्वय, र सामूहिक समुदायमुखी कार्यक्रमलाई अझ प्रभावकारी बनाउने निर्णय गरिएको छ।

भेलामा २१ मध्ये १७ संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरू उपस्थित थिए। कार्यक्रममा कार्यसमिति सदस्य, सल्लाहकार, र संस्था संरक्षकहरू पनि सहभागी भएका थिए। बैठकको अध्यक्षता संस्थाका अध्यक्ष शेर केसीले गर्नुभएको थियो भने बैठकको सञ्चालन संस्थाका सचिव माधव भण्डारीले गर्नुभएको थियो।

बैठकमा एनआरएनए स्कटल्याण्ड र सामाजिक संघ–संस्थाबीच भविष्यमा रहने सहकार्यको ढाँचा र कार्यक्षेत्रबारे विस्तृत छलफल भएको थियो। सहभागीहरूले समुदायलाई लक्षित गर्दै संयुक्त रूपमा कार्यक्रम निर्माण, कार्यान्वयन र सहभागिताबारे सुझाव आदान–प्रदान गर्नुभएको थियो। यसैगरी, वार्षिक च्यारिटी कार्यक्रमका विषयमा पनि विस्तृत छलफल भएको थियो। सहभागीहरूले च्यारिटी कार्यक्रम एनआरएनए राज्य समन्वय परिषद् स्कटल्याण्डको आयोजना र NRNA NCC को समन्वय तथा सहयोगमा सम्पन्न होस् भन्ने सुझाव दिएका थिए। एनआरएनए स्कटल्याण्डले उक्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न विस्तृत कार्ययोजना बनाउने र सहभागी सबै संघ–संस्थालाई सक्रिय सहभागिताका लागि आव्हान गर्ने निर्णय गरेको छ।

एनआरएनए स्कटल्याण्डले वर्षमा आयोजना गर्दै आएको नेपाली मेलाको आगामी वर्ष आयोजना हुने मेला कार्यक्रमको कार्ययोजना सबै संघ–संस्थाका प्रतिनिधि रहने गरि मेला आयोजक समितिले तयार गर्ने र तय गरिएको योजना अनुसार मेला सञ्चालन गर्ने निर्णय गरेको छ। सहभागी संघ–संस्थाका प्रतिनिधिहरूले भविष्यमा आपसी सहकार्य अझ प्रभावकारी बनाउन विभिन्न सकारात्मक सुझावहरू पनि प्रस्तुत गर्नु भएको थियो।

बैठकको अन्त्यमा NRNA राज्य समन्वय परिषद् स्कटल्याण्डका अध्यक्ष बहादुर शेर के.सि.ले सबै सहभागी संघ–संस्थाप्रतिनिधिहरूलाई सक्रिय सहभागिताको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “आजको बैठकमा सहभागी १७ संस्थाले आगामी दिनमा एनआरएनए स्कटल्याण्डसँग हातेमालो गर्दै समुदायका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाउनु, हाम्रो सामूहिक यात्राको ठूलो उपलब्धि हो। यस प्रकारका बैठकहरू संस्था क्रमिक रूपमा राख्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं।”

बैठकमा सहभागी संघ–संस्थाहरूमा ग्लास्गो नेपालीज एसोसिएशन, साउथसाइड नेपालीज कम्युनिटी ग्लास्गो, पशुपति नाथ मन्दिर, दियो क्लब यूके, हरियाली आमा समूह, सगरमाथा आमा समूह, पहिलो कदम स्कटल्याण्ड, नेपाली स्कटल्याण्ड एसोसिएशन, ओएनसीडब्ल्यू (ONCW), नेपालिज हिमालयन एसोसिएशन स्कटल्याण्ड, फाइफ नेपालीज कम्युनिटी, फोर्थ भ्याली नेपालीज एसोसिएशन, हिमालयन सेन्टर, एफएनसी महिला समूह, पछा पुछा गुथि स्कटल्याण्ड, स्कट नेपाल क्लब र एनएसए महिला समूह स्कटल्याण्ड रहेका थिए।

धेरै पढिएको