लण्डन । गुल्मी – सत्यवती गाउँपालिका–५, हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा सञ्चालन भएको ज्ञान महायज्ञमा चार करोड रुपैयाँ संकलन भएको छ।
क्याम्पसको समग्र विकासका लागि मङ्सिर १८ देखि २५ गतेसम्म आयोजना गरिएको राष्ट्रकल्याण एवं विश्व शान्ति विराट धनधान्यचल साङ्ग–श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ–२०८२ मा विदेशमा रहेका नेपालीहरुको समेत योगदान रहेको महायज्ञ संयोजक कासीराम भण्डारीले जानकारी दिए। बेलायतस्थित गैरआवासीय नेपालीहरुले मात्र ४४ लाख रुपैयाँ भन्दा बढी सहयोग पुर्याएको भण्डारीले बताए।
सत्यवती बहुमुखी क्याम्पस, तत्कालीन सत्यवती माध्यमिक विद्यालय जनसमुदायकै पहलमा २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त भएको थियो र क्षेत्रको एकमात्र उच्च शिक्षा प्रदान गर्ने संस्था हो। हाल यहाँ मानविकी र व्यवस्थापन संकायमा ९२ विद्यार्थी अध्ययनरत छन्।
महायज्ञमा नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज र स्वामी विवेकानन्द सरस्वती महाराजले दार्शनिक प्रवचन दिएका थिए भने आचार्य नारायणप्रसाद गैरेले श्रीमद्भागवतीय कथा वाचन गरे।
क्याम्पसले सूचना तथा सञ्चार प्रविधि र गुणस्तरीय शिक्षा विकास, भौतिक पूर्वाधार सुधार, आवासीय छात्रावास, आधुनिक पुस्तकालय निर्माण, विद्यार्थीलाई ‘पढ्दै कमाउने’ कार्यक्रममा जोड, र संस्कृत शिक्षाको व्यवस्थापनलाई प्रवर्द्धन गर्न महायज्ञ आयोजना गरेको हो।
महायज्ञमा लक्षहवन, महारुद्राभिषेक, पञ्चदेवोपासना, मन्त्रजप, शतचण्डी, शुक्लयजुर्वेद, गीता, विष्णुसहस्रनाम आदिका पाठ–पारायण, भजन-कीर्तन, कृष्णलीला र नृत्य प्रदर्शन गरिएको थियो। उद्घाटन, शोभायात्रा र मौलो पूजापछि औपचारिक श्रीमद्भागवत पाठ सम्पन्न भयो।
विदेशस्थित नेपालीहरुसहित गाउँपालिकाका अध्यक्ष टिकाराम पाण्डे, क्याम्पस संचालक समितिका अध्यक्ष पिताम्बर ज्ञावली, क्याम्पस प्रमुख, नेत्र बहादुर भण्डारी, नारायण नेउपाने, कृष्ण भण्डारी आर्थिक सहयोग संकलन समितिका संयोजक पारीश्वर ढकाल र स्थानीय आमा समूहले महायज्ञको सफलतामा सक्रिय भूमिका निर्वाह गरेका थिए। सो महायज्ञमा ७ सय मूरी धान, २७ मुरी चामल समेत संकलन भएको थियो ।

