नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बुझाएको समानुपातिक सूचीमा प्रवासबाट २ जनालाई उम्मेदवार बनाएको छ।
नेकपाले ओमानबाट डीबी (डम्बरबहादुर) क्षत्री र बेलायतबाट कृष्णकुमार राईलाई समानुपातिक उम्मेदवार बनाएको हो।
गैरआवासीय नेपाली अभियन्ता रहेका क्षत्री एनआरएनएका पूर्वकेन्द्रीय उपाध्यक्ष हुन्। वैदेशिक रोजगार सामाजिक सुरक्षा कोष र रोजगारीमा विदेश आएका मजदुरको विदेशबाटै पुनः श्रम स्वीकृतिको पहलका लागि उनलाई प्रवासमा चिनिन्छ।
त्यस्तै, राई गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अध्यक्ष हुन्। बेलायती सरकारले भूतपूर्व गोर्खा सैनिकमाथि गरेको विभेदलाई गेसोको तर्फबाट अन्तर्राष्ट्रिय मुद्दा बनाउन उनको महत्त्वपूर्ण भूमिका मानिन्छ।
नेपाली कम्युनिस्ट पार्टीले पुस १० गते प्रवास क्षेत्रलाई विशेष सर्कुलर पठाएर आसन्न प्रतिनिधि सभाको निर्वाचनका लागि सम्भावित प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नामावली पठाउन भनेको थियो। त्यही अनुसार क्षेत्रीलाई साविक माओवादीको एसिया र राईलाई पश्चिम अन्तरमहादेशीय कमिटीले समानुपातिक सांसदको लागि सिफारिस गरेको थियो।