२२ पुष २०८२, मंगलवार
Follow Us

सर्वसम्मत नेतृत्व चयन गर्न प्रयास गरौ : डा. हेम राज शर्मा, उपाध्यक्ष एनआरएनए

नेपालब्रिटेन संवाददाता
२० पुष २०८२, आईतवार २०:४२

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का उपाध्यक्ष डा. हेमराज शर्माले संस्थाभित्र देखिएको विशेष परिस्थितिका कारण आगामी फेब्रुअरी महिनामा हुने १२औँ महाधिवेशनमा सहमतिमार्फत नेतृत्व चयन गर्न दबाब रहेको बताएका छन्।

डा. शर्माले एनआरएनएको वर्तमान अवस्था, पछिल्ला एकता प्रयासहरू तथा प्रस्तावित एकता महाधिवेशनका विषयमा नेपाल पत्रकार महासंघ जापान शाखाको संयोजनमा आइतबार जापानमा क्रियाशील पत्रकारहरूसँग आयोजित कार्यक्रममा सम्बोधन गर्दै उक्त धारणा व्यक्त गरेका हुन्।

उनले हालै भएको एनआरएनएको एकता प्याकेजमा आगामी नेतृत्व सहमतिमै चयन गर्न प्रयास गर्ने भन्ने आन्तरिक समझदारी भएको खुलासा गरे। यद्यपि, एकताको औपचारिक दस्तावेजमा ‘सर्वसम्मत नेतृत्व चयन’ भन्ने कुरा स्पष्ट रूपमा लेख्न नमिल्ने भए पनि आगामी कार्यसमितिलाई सर्वसम्मत बनाउने प्रयास गर्ने सहमति रहेको उनले बताए।

डा. शर्माले सर्वसम्मत रूपमा टिम तयार भए पनि त्यसलाई महाधिवेशनबाट वैधानिक रूपमा अनुमोदन गरिनु आवश्यक रहेको स्पष्ट पारे। साथै, आगामी कार्यसमितिको कार्यकाल जम्मा १५ महिनाको मात्र हुने भएकाले सहमतिमार्फत नेतृत्व चयन सम्भव हुने आधारसमेत प्रस्तुत गरे।

कार्यक्रममा एनआरएनए आईसीसीका उपाध्यक्ष रोबिन शेरचन, आईसीसीका कोषाध्यक्ष सुदन थापा, एनआरएनए जापानका अध्यक्ष सुवास लामिछाने, निवर्तमान अध्यक्ष नविन निउरे, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तथा सल्लाहकार तिलक मल्ल, सल्लाहकार मोहन घले लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव अर्जुन लामिछानेले गरेका थिए।

कार्यक्रमले एनआरएनएभित्रको वर्तमान अवस्था, एकताको आवश्यकता तथा आगामी कार्यदिशाबारे स्पष्ट धारणा, दृष्टिकोण र सुझावहरूको आदान–प्रदान गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ। कार्यक्रममा जापानमा क्रियाशील १३ जना पत्रकारहरूको सहभागिता रहेको थियो।

धेरै पढिएको