बागलुङ । नेकपा (एमाले) बागलुङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै एक आकांक्षीले केन्द्रमा उजुरी दिएका छन्। उम्मेदवार छनोट प्रक्रियामा विधि र पद्धति मिचिएको भन्दै उम्मेदवारका आकांक्षी श्रीप्रसाद शर्माले सिफारिस निर्णयप्रति लिखित असहमति जनाएका हुन्।
पुस १८ गते बसेको बैठकमा शर्मासहित ८ जना आकांक्षीले प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि तोकिएको शुल्क बुझाएर प्रक्रियामा सहभागी भएका थिए। बैठकले उम्मेदवार छनोट गर्नका लागि सहमति जुटाउने र सहमति नभए निर्वाचन प्रक्रियाबाट टुङ्गो लगाउने जिम्मेवारी क्षेत्रीय संयोजक सहितको कार्यदललाई दिएको थियो।
कार्यदलले आफूलाई दिइएको जिम्मेवारी विपरीत कुनै सहमति नजुटाएको र निर्वाचन प्रक्रिया पनि नअपनाई एकलौटी ढङ्गले नाम सिफारिस गरेको आरोप शर्माले लगाएका छन्। आफ्नो सहमति बिना र तोकिएको विधि मिचेर मनोमानी ढङ्गले नाम सिफारिस गरिएको भन्दै उनले केन्द्र, प्रदेश र सम्बन्धित निकायमा उजुरी बुझाएका छन्।
विधि र प्रक्रिया मिचेर गरिएको सिफारिस सच्याई तोकिएको प्रक्रियामार्फत नै पुनः निर्णय गर्नुपर्ने उनको माग छ। यसबारे थप प्रतिक्रिया दिन भने उनले अस्वीकार गरेका छन्।
क्षेत्रीय कमिटीले नेताहरू इन्द्रलाल सापकोटा, हिरा केसी र मनकुमारी केसीको नाम सिफारिस गरेको थियो।
