२३ पुष २०८२, बुधबार
Follow Us

रास्वपाको सचिवालय बैठकमा आज १० एजेन्डामा छलफल हुँदै

नेपालब्रिटेन संवाददाता
२२ पुष २०८२, मंगलवार ०६:२९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संगठन विस्तार र आगामी निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै आज (मंगलबार) सचिवालय बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको आन्तरिक जीवन र भावी रणनीतिसँग सम्बन्धित १० वटा महत्त्वपूर्ण विषयमा छलफल हुने भएको छ ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार, आजको बैठकमा विशेषगरी केन्द्रीय समितिको आकार बढाउने तथा निर्वाचन परिचालन संयन्त्रलाई चुस्त बनाउने विषयले प्राथमिकता पाउनेछन् । रास्वपाले सांगठनिक संरचनालाई थप बलियो बनाउन ‘पार्टी समायोजन’ र ‘उम्मेदवार सिफारिस’ सम्बन्धी उपसमितिहरूको कार्यक्षेत्र विस्तार गर्ने तयारी गरेको छ।

बैठकमा प्रस्तुत हुने प्रस्तावहरूमा आगामी निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी दिने अन्तिम मिति तय गर्ने, समानुपातिक उम्मेदवारहरूको परिचालन कार्यविधि बनाउने र निर्वाचनका लागि आर्थिक स्रोत व्यवस्थापनको मोडालिटी तयार गर्ने विषय समेटिएका छन् ।

त्यस्तै, तल्लो तहसम्म संगठन पुर्‍याउने उद्देश्यले प्रदेश र जिल्लास्तरीय वृहत् पार्टी प्रवेश कार्यक्रमको तालिका तथा स्थानीय तहमा ‘उम्मेदवार क्लब’ गठन गर्ने विषय पनि आजको बैठकको कार्यसूचीमा रहेको प्रवक्ता झाले जानकारी दिए ।

प्रस्तावित विषय
१. प्रत्यक्षतर्फको उमेदवारी दिने अन्तिम मिति ।
२. उमेदवार सिफारिस उपसमिति विस्तार ।
३. पार्टी समायोजन उपसमिति विस्तार ।
४. केन्द्रीय समिति विस्तार ।
५. निर्वाचन परिचालन समिति गठन ।
६. समानुपातिक उमेदवारको परिचालन कार्यविधि ।
७. निर्वाचन स्रोत व्यवस्थापन कार्यविधि ।
८. प्रदेशस्तरीय बृहत् पार्टी प्रवेश कार्यक्रम ।
९. जिल्लास्तरीय पार्टी प्रवेश कार्यक्रम ।
१०. स्थानीय तह उमेदवार क्लब गठन ।

धेरै पढिएको