काठमाडौं । मुलुक प्रतिनिधिसभा निर्वाचनको संघारमा उभिएको छ । चुनावी माहोल तात्तिँदै गर्दा नेपाली राजनीतिको तापक्रम भने एकाएक दिल्लीतर्फ सोझिएको छ । मनोनयन दर्ताको मिति (६ माघ) नजिकिँदै गर्दा शीर्ष नेताहरूको भारत भ्रमणको लर्कोले राजनीतिक वृत्तमा नयाँ तरंग पैदा गरेको छ । विशेषगरी मुलुकभित्र नयाँ शक्तिहरूको उदयसँगै परम्परागत दलहरूमा देखिएको छटपटी र सत्ता समीकरण जोगाउने कसरतका रूपमा पछिल्लो ‘दिल्ली दौड’ लाई हेरिएको छ ।
सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका दृश्यहरूले पनि राजनीतिको बदलिँदो कोर्सलाई संकेत गर्छन् । नेकपा संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) दुईदिने दिल्ली बसाइ सकेर काठमाडौं ओर्लँदै गर्दा कांग्रेसकी प्रभावशाली नेतृ आरजु राणा देउवा दिल्ली उत्रिसकेकी थिइन् ।
प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक डा. बाबुराम भट्टराई पनि हालै मात्र भारत भ्रमण सकेर फर्किएका हुन् । यस्तै, प्रधानमन्त्री सुशीला कार्कीका पति दुर्गाप्रसाद सुवेदी उपचारका क्रममा दिल्ली पुगेका छन् भने रास्वपा उपसभापति स्वर्णिम वाग्ले र कांग्रेस नेता गोविन्द पोखरेल बिहीबार एउटा सेमिनारका लागि दिल्ली जाँदै छन् ।
राजनीतिक मिसन !
प्रचण्डको भ्रमणलाई पार्टीको प्रवासी संगठनको कार्यक्रम भनिए पनि यसको अन्तर्य विशुद्ध राजनीतिक थियो । स्रोतका अनुसार, दिल्लीको खान मार्केटस्थित होटल ताजमान सिंहमा बसेका प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालसँग ‘वान-टु-वान’ वार्ता गरेका छन् । आइतबार राति भएको यो भेटलाई निकै अर्थपूर्ण मानिएको छ ।
लाजपतनगरको औपचारिक कार्यक्रममा अन्तिम समयमा मात्र पुगेर विमानस्थल दौडिनुले पनि संयोजक प्रचण्डको प्राथमिकता राजनीतिक भेटघाट नै थियो । २०७९ को चुनावअघि पनि प्रचण्डले यसैगरी डोभाल र विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका थिए ।
पछिल्लो समय रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को एउटै छातामुनि गोलबद्ध भएपछि पुराना दलहरू झस्किएका छन् । एक्लाएक्लै चुनावमा जाँदा जनमत गुम्ने डरले कांग्रेस, एमाले र नेकपाबीच चुनावी गठबन्धनको आन्तरिक तयारी सुरु भएको छ ।
यही पृष्ठभूमिमा दिल्ली उड्नुअघि प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मानभवनस्थित ठेकेदार शारदाप्रसाद अधिकारीको निवासमा भेटवार्ता गरेका थिए । २०७४ मा वाम गठबन्धनको जग बसाल्ने उक्त घरमा साढे दुई वर्षको तिक्तता बिर्सेर ओली र प्रचण्डबीच भएको संवादलाई सम्भावित नयाँ गठबन्धनको प्रस्थानविन्दुका रूपमा हेरिएको छ ।
आरजु र वाग्लेको भ्रमण
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणाको भ्रमणलाई ‘नियमित स्वास्थ्य उपचार’ भनिए पनि उनले राजनीतिक दूतका रूपमा भारतीय संस्थापन पक्षसँग छलफल गर्ने बुझिएको छ । विगतमा पनि उनले भाजपा विदेश विभाग प्रमुख विजय चौथाइवाललगायतसँग महत्त्वपूर्ण भेटघाट गर्दै आएकी थिइन् ।
उता, रास्वपाका वाग्ले र कांग्रेसका पोखरेल सहभागी हुन लागेको सेमिनारका आयोजक ‘विवेकानन्द इन्टरनेसनल फाउन्डेसन’ का संस्थापक निर्देशक अजित डोभाल नै हुन् । यसले पनि भारतको सबै पक्षसँग सम्बन्ध विस्तार गर्ने प्रयास भइरहेको देखिन्छ ।
चुनावको मुखमा नेताहरूको यो दौडधुपलाई कूटनीतिक मामिलाका जानकारहरूले नेपालको परम्परागत राजनीतिको ‘पुरानै रोग’ भनेका छन् । भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय भन्छन्, ‘‘मुलुकभित्र संकट पर्दा वा आफ्नो स्वार्थका लागि नेताहरूले दिल्ली गुहार्ने चलन पुरानो हो । अहिलेको राजनीतिक ध्रुवीकरण र विषम परिस्थितिमा भारतीय धारणा बुझ्न र समर्थन जुटाउन यो दौडधुप चलेको देखिन्छ ।’