२६ पुष २०८२, शनिबार
Follow Us

विशेष महाधिवेशनको सन्दर्भ यहीँ रोकौँ, निर्वाचनमा केन्द्रित बनौँ : कांग्रेस प्रवक्ता महत

नेपालब्रिटेन संवाददाता
२६ पुष २०८२, शनिबार ०६:४४

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले विशेष महाधिवेशनको माग वैधानिक र व्यवहारिक दृष्टिकोणले अनुपयुक्त रहेको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीले नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेकाले अहिले विशेष महाधिवेशनको सन्दर्भ सान्दर्भिक नभएको स्पष्ट पारेका हुन् ।

महतले पार्टीको आधिकारिक निर्णयलाई सबैले पालना गर्नुपर्नेमा जोड दिँदै संशोधित कार्यतालिकाअनुसार नै अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे । आगामी आम निर्वाचनमा पार्टीको सम्पूर्ण शक्ति केन्द्रित गर्नुपर्ने उल्लेख गर्दै उनले विशेष महाधिवेशनको चर्चा तत्काल रोक्नुपर्ने तर्क गरे ।

‘पार्टीले नियमित अधिवेशन गर्ने निर्णय गरिसकेको छ । नियमित अधिवेशन तोकिएको समयमा सम्पन्न गर्न नसकिने अवस्था भएपछि संशोधित कार्यतालिका पास गरिएको हो, त्यसलाई हामी सबैले मान्नुपर्छ,’ उनले भने, ‘विशेष गरी पदाधिकारी साथीहरू त झन् निर्णय कार्यान्वयनमा लाग्नुपर्छ । यस्तो अवस्थामा विशेष महाधिवेशनको कुरा उठाउनु वैधानिक र व्यवहारिक दुवै कोणबाट उचित छैन ।’

उनले विशेष महाधिवेशनमा सहभागी नहुन आग्रह गर्दै अबको ध्यान एजेण्डा लिएर जनतामा जानेतर्फ हुनुपर्ने बताए । ‘हामी चाहन्छौँ, विशेष महाधिवेशनको सन्दर्भलाई यहीँ रोकौँ र सम्पूर्ण पार्टी एकत्रित भएर अघि बढौँ । आम निर्वाचनमा जाँदा कस्ता एजेण्डा लैजाने भन्नेबारे सोचौँ,’ महतले थपे, ‘आम कार्यकर्ताको भावनाअनुसार पार्टी चल्ने हो । यो अवस्थामा हामी विभाजित हुने होइन, एकत्रित भएर निर्वाचनमा केन्द्रित हुनुपर्छ । नीतिगत प्रस्तावहरू केन्द्रीय समितिबाटै पारित गर्न सकिन्छ ।’

प्रवक्ता महतले कांग्रेसभित्र अहिले एकताको खाँचो रहेको र सबै नेता-कार्यकर्ताको ध्यान पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनेतर्फ मोडिनुपर्नेमा जोड दिए ।

धेरै पढिएको