काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो समानुपातिक बन्द सूचीमा केही हेरफेर गरेको छ । यसअघि पेश गरिएको सूचीलाई लिएर विभिन्न कोणबाट आलोचना भएका थिए ।
सूचीमा के-के हेरफेर गरियो भनेर रास्वपाले औपचारिक जानकार दिएको छैन । स्रोतका अनुसार खस आर्य पुरुषतर्फ रमेश प्रसाईँ एक नम्बरमा उक्लिएका छन् ।
यसअघि पहिलो नम्बरमा रहेका रास्वपा सहमहामन्त्री विपिन आचार्यले आफ्नो नाम फिर्ता लिएपश्चात् प्रसाईँलाई पहिलो नम्बरमा उकालिएको रास्वपा स्रोतले बतायो । यससँगै प्रसाईँको आगामी प्रतिनिधिसभामा लगभग स्थान सुरक्षित भएको मानिएको छ ।
रास्वपाले गरेको प्राइमरी इलेक्सनमा प्रसाईँले सर्वाधिक मत ल्याएका थिए । यद्यपि, बन्द सूचीमा भने उनलाई पाँचौँ प्राथमिकतामा झारियो । पार्टीभित्रका योग्य र लोकप्रिय उम्मेदवारलाई सांसद बन्न मुस्किल पर्ने गरी तल झारिएपछि रास्वपा भित्रै असन्तुष्टि बढेको थियो । अन्ततः रास्वपाले गल्ती सच्याएको हो ।
सूचीमा दोस्रो र तेस्रो नम्बरमा रहेका सचिन ढकाल र सुदीप ढकाल थिए । उनीहरू दुवै जना बालेनको कोटाबाट आएका हुन् । सचिन उमेरका कारण बन्द सूचीका लागि अयोग्य ठहरिए । सुदीप भने सूचीमा यथावत् छन् ।