काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका छन् । पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले काँग्रेस जिउँदो मानिसहरूको पार्टी भएको बताएका हुन् ।
‘तपाईँहरूले जति गर्नु भएको छ, तपाईँहरूको यो प्रयासले काँग्रेसमा यो स्थापित गरेको छ, काँग्रेस दास र लासहरूको पार्टी होइन । काँग्रेस जिउँदो मानिसहरूको पार्टी हो,’ उनले भने, ‘जुन समाजले प्रश्न गर्न सक्दैन, त्यसले उत्तर पनि पाउँदैन । जिउँदो काँग्रेसले बल्ल समाजको जिम्मेवारी पूरा गर्न सक्छ ।’
राजाको छोरा राजा हुने व्यवस्था फालेर आएको गणतन्त्रमा ‘नेपो बेबी’हरुको राज देखेर जनता रिसाएको उनको भनाइ थियो ।
‘राजाको छोरा राजा हुने राजतन्त्र फालेर हामीले ल्याएको गणतन्त्रमा नेपो–बेबीहरूको राज देखेर उनीहरू रिसाएका हुन्’, थापाले भने, ‘आमनागरिकको त्यो रिस जेनजी आन्दोलन क्रममा सडकमा पोखिएको हो ।’
उक्त आन्दोलनमा जनताले सरकारसँग रिस पोखेको र सरकारमा काँग्रेस रहेको स्वीकार गरे । आफूहरुसँग व्यक्तिगत रुपमा नभई भ्रष्टाचार र कुशासनसँग जनता रिसाएको गगनले बताए ।
‘त्यो आन्दोलनमा जनताले सरकारसँग रिस पोखेका थिए । त्यो सरकारमा को थियो ? हामी थियौं । उनीहरू संसदसँग रिसाएका थिए । त्यो संसदमा को थिए ? हामी थियौं । उनीहरू हामीसँग व्यक्तिगत रूपमा रिसाएका होइनन् । यहाँको भ्रष्टाचार र कुशासन देखेर रिसाएका हुन्’, थापाले भने ।
साथै, उनले थप भने, ‘यहाँ प्रश्न छन् । जुन पार्टीमा प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन । जसले प्रश्न गर्न सक्दैन उसले उत्तर पनि खोज्न सक्दैन । तपाईँहरूको प्रयासले काँग्रेसलाई ज्यूँदो राखेको छ ।’
उनले जेनजी आन्दोलनका क्रममा देखिएको रिस र आक्रोश भ्रष्टाचार, कुशासन र बेथितिसँग भएको बताए ।
‘नेपालका लाखौँलाख नरनारीहरूले सडकमा आएर रिस पोखेका हुन् । को सँग व्यक्त गरेको ? सरकारसँग । अनि सरकारमा को थियो ? हामी थियौँ,’ उनले भने, ‘संसद्मा को थियो ? हामीसँग । व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको हो । भ्रष्टाचार, कुशासन र बेथितिसँग रिसाएको हो ।’
उनले थप भनेका छन्, ‘राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीको राजदेखि रिसाएको हो । रिसाएकै हो । चित्त दुखाएकै हो नि । हाम्रो अगाडिको प्रश्नलाई अनदेखा गर्ने, बेवास्ता गर्ने वा बुझ्ने, मनन गर्ने र सम्बोधन गर्ने भन्ने हो । विशेष अधिवेशन त्यसको एउटा प्रयास हो ।’