काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि कालिकोटमा नेपाली कांग्रेसभित्र तीव्र विवाद देखिएको छ । पार्टीले हर्षबहादुर बमलाई आधिकारिक उम्मेदवार बनाएपछि असन्तुष्ट बनेका युवा नेता भुपेन्द्रजंग शाहीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसअघि २०७० र २०७४ को निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार बनेका शाही यसपटक पार्टीभित्रको गुटबन्दी र विशेष महाधिवेशनको विवादका कारण टिकट पाउनबाट वञ्चित भएका हुन् । डा. शेखर कोइरालानिकट मानिने शाहीले टिकट नपाएपछि ‘बागी’ उम्मेदवारी दिएका हुन् ।
यता, वामपन्थी कित्तामा पनि विद्रोह देखिएको छ । नेकपाका आधिकारिक उम्मेदवार महेन्द्रबहादुर शाहीविरुद्ध जीवन बुढाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । चुनावी मैदानमा नेकपा एमालेका नागीन्द्र शाही, माओवादीका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश न्यौपाने पनि प्रतिस्पर्धामा छन् ।
२०७९ को निर्वाचनमा यहाँ माओवादीका महेन्द्रबहादुर शाही २३,७२७ मतका साथ विजयी भएका थिए भने एमालेका नागीन्द्र शाही १६,७१८ मतसहित दोस्रो स्थानमा थिए ।