काठमाडौं । काठमाडौँको मूलपानीमा बुधबार राति प्रहरीले गोली प्रहार गरी संगठित लुटपाटमा संलग्न १० जनालाई नियन्त्रणमा लिएको छ ।
गिरोहका मुख्य नाइके विनय तामाङ रहेको खुलेको छ । काभ्रे घर भएका तामाङको दायाँ खुट्टामा गोली लागेको र हाल काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनी भदौ २४ गतेको जेनजी आन्दोलनमा प्रहरी वृत्त महाराजगन्जबाट फरार भएका थुनुवा समेत हुन् ।
प्रहरीका अनुसार राति मूलपानी चोकमा रात्रिकालीन चेकिङका क्रममा मोटरसाइकल ठोकेर भाग्न खोजेपछि नियन्त्रणका लागि गोली चलाइएको हो । घटनामा दुई प्रहरी घाइते भए पनि उनीहरू खतरामुक्त छन् ।
यो गिरोह उपत्यकाका विभिन्न स्थानमा रातिको समयमा लुटपाट मच्चाउँदै आएको खुलेको छ । अहिलेसम्म उनीहरूले स्वयम्भू क्षेत्रमा ७, बुढानिलकण्ठ क्षेत्रमा ३, बौद्ध क्षेत्रमा ३, गौशाला क्षेत्रमा ३ र मुलपानी क्षेत्र १३ वटा लुटपाटका घटना घटाएका छन् ।