२५ माघ २०८२, आईतवार
Follow Us

ओलीसँग सहकार्य गर्न गगन र प्रचण्डले गरे इन्कार

नेपालब्रिटेन संवाददाता
२५ माघ २०८२, आईतवार ०५:१८

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रमुख राजनीतिक दलहरूबीच चुनावी तालमेल गर्ने प्रयास असफल भएको छ । पछिल्लो केही समयदेखि अनौपचारिक रूपमा भइरहेको गठबन्धनको कसरत निष्कर्षमा पुग्न नसकेपछि दलहरूले एक्लाएक्लै निर्वाचनमा सहभागी हुने तयारी गरेका हुन् ।

विशेषगरी नेकपा एमालेले नेपाली कांग्रेस र नेकपासँग निश्चित निर्वाचन क्षेत्रहरूमा तालमेलका लागि राखेको प्रस्ताव दुवै दलले अस्वीकार गरेका छन् । निर्वाचनको मिति नजिकिँदै जाँदा एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र नेकपासँग चुनावी सहकार्यका लागि सक्रियता देखाएका थिए । तर, कांग्रेस नेतृत्व र नेकपाका दोस्रो तहका नेताहरूको असहमतिका कारण एमालेको योजना सफल हुन सकेन ।

विशेष महाधिवेशनपछि गगन थापाले कांग्रेसको नेतृत्व सम्हालेदेखि नै कांग्रेस चुनावी तालमेलको विपक्षमा उभिएको छ । सभापति थापाले निर्वाचनपूर्व कुनै पनि दलसँग गठबन्धन नगर्ने नीतिलाई कडाइका साथ लागू गरेका छन् । कांग्रेसले आगामी निर्वाचनमा आफ्नै बलबुतामा उम्मेदवारी दिने प्रष्ट पारेको छ ।

एमाले र नेकपाबीच केही खास क्षेत्रमा तालमेलका लागि छलफल भएको थियो । एमाले अध्यक्ष ओलीले नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग झापा क्षेत्र नम्बर ५ र महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र दाङ-२ मा सहयोगको प्रस्ताव गरेका थिए । प्रचण्ड सुरुमा केही लचिलो देखिए पनि माधवकुमार नेपाल, भीम रावल र झलनाथ खनाल लगायतका नेताहरूले त्यसलाई ठाडै अस्वीकार गरिदिए ।

बिहीबारको जुम बैठकमा बोल्दै संयोजक प्रचण्डले ओलीको प्रस्ताव अस्वीकार गरेको पुष्टि गरे । उनले एमालेसँग तालमेल गर्दा ओली मात्र शक्तिशाली हुने र नेकपालाई घाटा हुने निष्कर्षमा पार्टी पुगेको बताए । युवा नेताहरूले समेत ओलीसँग सहकार्य गरे विद्रोह गर्ने चेतावनी दिएपछि प्रचण्ड पछि हटेका हुन् ।

गठबन्धनका प्रयास विफल भएपछि एमाले केही दबाबमा देखिएको छ । यद्यपि, एमालेले जनार्दन शर्मा र बाबुराम भट्टराई नेतृत्वको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) सँग भने चुनावी सहकार्यको सहमति गरिसकेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले देश जलाउनेका विरुद्ध उभिने शक्तिहरूसँग सहकार्य गर्ने पार्टीको नीति रहेको बताए ।

यसैबीच, एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा-५ मा चुनावी प्रचार सुरु गरेका छन् । शनिबारदेखि उनले घरदैलो अभियान तीव्र पारेका हुन् । झापा-५ मा ओलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह र नेकपाका रञ्जित तामाङले चुनौती दिँदैछन् ।

यसपटकको निर्वाचनमा प्रमुख दलहरू आ-आफ्नै शक्तिमा मैदान उत्रिने भएपछि प्रतिस्पर्धा रोचक हुने देखिएको छ । तालमेलको बाटो बन्द भएपछि सबै दलहरू यतिबेला आन्तरिक संगठन परिचालन र घरदैलो अभियानमा केन्द्रित भएका छन् ।

धेरै पढिएको