रमेश खनाल, बार्सिलोना।
प्रवासको व्यस्त जीवनशैली र विदेशी संस्कृतिको प्रभावका बीच आफ्नो मौलिकता जोगाउन स्पेनको बार्सिलोनामा ‘नेपाल घर (मन्दिर)’ निर्माणको अभियानले गति लिएको छ। यही अभियानलाई मूर्तरूप दिन र आर्थिक स्रोत जुटाउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पेनले आगामी अप्रिलमा ‘स्पेन आध्यात्मिक महोत्सव’ आयोजना गर्ने भएको छ।
कार्यक्रमको विवरण र मुख्य आकर्षण
बार्सिलोनाको सालोन एल प्रादो (सी/अल्मिरान्ते केन्दो ४९) मा आगामी ५ देखि ९ अप्रिल २०२६ सम्म सञ्चालन हुने यस महोत्सवमा चर्चित वाचनप्रविण पण्डित दीनबन्धु पोखरेलको प्रमुख उपस्थिति रहनेछ। महोत्सवमा श्रीमद्भागवत महापुराणका साथै वेद र बौद्ध दर्शनका महत्वपूर्ण पाटाहरूमा आधारित रहेर पण्डित पोखरेलले प्रवचन दिने आयोजकले जनाएको छ।
आध्यात्मिक चेतना र जीवन दर्शन
भर्खरै सम्पन्न महोत्सवको घोषणा सभामा बोल्दै पण्डित पोखरेलले आध्यात्मलाई धर्म वा कर्मकाण्डमा मात्र सीमित नराखी जीवन जिउने कलाका रूपमा बुझ्नुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार श्रीमद्भागवतले नैतिक जीवनको मार्ग देखाउँछ भने वेदले प्रकृति र चेतनाको सम्बन्ध प्रस्ट पार्छ। त्यस्तै, बौद्ध दर्शनले आधुनिक जीवनमा शान्ति र करुणाको आवश्यकतालाई उजागर गर्ने उहाँको तर्क थियो।
“प्रवासमा रहँदा भौतिक विकाससँगै आफ्नो मानसिक र आध्यात्मिक स्वास्थ्यका लागि यस्ता विमर्शहरू झनै आवश्यक छन्,” उहाँले भन्नुभयो।
सहयोगको हात र मुख्य प्रायोजन
महोत्सवलाई सफल बनाउन आर्थिक सहयोग जुट्ने क्रम पनि सुरु भएको छ। महोत्सवका लागि अक्कल कोपीला फाउन्डेसनमार्फत अक्कल बोहराले आफ्नी आमा गोरी बोहरा र ससुरा रामजी लामाको स्मृतिमा २००० युरो सहयोग प्रदान गर्दै मुख्य प्रायोजन गर्नुभएको छ। त्यसैगरी प्रिमियम प्रायोजकमा देवराज सापकोटा (सनराइज रेस्टुरेन्ट) ले १२०० युरो र मुकुन्द लामिछाने (ग्रुप अफ काठमाडौँ) ले १२०० युरो सहयोग प्रदान गर्नुभएको छ। यो प्रारम्भिक सहयोगले ‘नेपाल घर’ निर्माणको सपना साकार पार्न ठूलो टेवा पुग्ने आयोजकको विश्वास छ।
साझा केन्द्रको सपना
स्पेनमा नेपाली समुदायको आफ्नै एउटा धार्मिक, सांस्कृतिक र सामाजिक केन्द्र होस् भन्ने दीर्घकालीन लक्ष्यका साथ ‘नेपाल घर’ को अवधारणा ल्याइएको हो। यो महोत्सव केवल धार्मिक अनुष्ठान मात्र नभई नेपाली समुदायलाई एउटै सूत्रमा बाँध्ने र साझा थलो निर्माण गर्ने एउटा महत्वपूर्ण खुड्किलो हुने अपेक्षा गरिएको छ।
कार्यक्रम संयोजक एवं एनआरएनए स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठले स्पेनमा छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई यो महान् अभियानमा हातेमालो गर्न र महोत्सवमा सहभागी भई पुण्य आर्जन गर्न हार्दिक अपिल गर्नुभएको छ।
