स्कटल्याण्डमा बढ्दो नेपाली समुदायका लागि महत्वपूर्ण आध्यात्मिक केन्द्रका रूपमा स्थापित ‘पशुपति मन्दिर ग्लास्गो’ को तेस्रो वार्षिक साधारण सभा सोमबार सफलतापूर्वक सम्पन्न भएको छ। सभाले नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
सभाबाट समाजसेवी, पूर्व गैरआवासीय नेपाली संघ स्कटल्याण्ड अध्यक्ष तथा हालका प्रमुख संरक्षक एवं सफल व्यवसायी काशीराम भण्डारी मन्दिरको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ।
नवगठित १६ सदस्यीय कार्यसमितिमा तीन उपाध्यक्षका रूपमा नरिश्वर खराल, प्रशुराम सापकोटा र कृष भटुवाल चयन भएका छन्। सचिवमा डोली भट्ट, सह–सचिवमा देवेंद्र गैरे, कोषाध्यक्षमा सर्मिला भण्डारी तथा सह–कोषाध्यक्षमा परशुराम भण्डारी चयन भएका छन्। अन्य सदस्यहरू पनि सभाबाट अनुमोदित गरिएको जनाइएको छ।
ग्लासगोस्थित पशुपति मन्दिर ग्लास्गो स्कटल्याण्डमा रहेका नेपाली हिन्दू समुदायको आस्था र विश्वासको केन्द्रका रूपमा परिचित छ। स्थापना कालदेखि नै नेपाली समुदायको सक्रिय पहल, सहयोग र व्यवस्थापनमा सञ्चालन हुँदै आएको यस मन्दिरमा दैनिक रूपमा नियमित पूजा–आराधना हुँदै आएको छ। मन्दिरले यहाँ बसोबास गर्ने नेपालीहरूलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक रूपमा एकताबद्ध गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
यद्यपि मन्दिरको आर्थिक अवस्था अझै सुदृढ हुन नसकेको जनाइएको छ। यसको सञ्चालन दाताहरूको सहयोग, श्रद्धालुहरूको योगदान तथा समुदायको उदार समर्थनमा निर्भर रहँदै आएको छ। दीर्घकालीन स्थायित्व सुनिश्चित गर्न सशक्त आर्थिक योजना, कोष वृद्धिका अभियान तथा सामूहिक योगदान आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्।
स्कटल्याण्डमा नेपाली समुदाय दिनप्रतिदिन विस्तार हुँदै गएको छ। रोजगारी, व्यवसाय, अध्ययन तथा विभिन्न पेशामा संलग्न नेपालीहरूले यहाँ आफ्नो पहिचान मजबुत बनाइरहेका छन्। यस्तो परिवेशमा भाषा, संस्कृति, परम्परा र धर्मको संरक्षणमा यस्ता धार्मिक संस्थाहरूको भूमिका अझ महत्वपूर्ण बन्दै गएको छ।
नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारी तथा सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै गैरआवासीय नेपाली संघ स्कटल्याण्ड का सचिव माधव भण्डारीले भण्डारीको नेतृत्व, अनुभव र सामाजिक योगदानले मन्दिरको आगामी यात्रालाई अझ सुदृढ, व्यवस्थित र पारदर्शी बनाउने विश्वास व्यक्त गर्नुभयो। समुदाय एकजुट भएर मन्दिरको विकास र आर्थिक सुदृढीकरणमा सहकार्य गर्नुपर्नेमा उनले जोड दिनुभयो।
