ब्रेकिङ न्युज

गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु, तीन घाइते

काठमाडौँ । गुल्मीको काली गण्डकी गाउँपालिका-२, दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार बुधवार दिउँसो करिब ४ बजे स्याङ्जाको चिरकोटबाट गुल्मीको राक्सेतर्फ जाँदै गरेको बीएए ०२२० नम्बरको स्कारपियो काली गण्डकी करिडोर सडक खण्ड अन्तर्गत दबौखानीमा सडकबाट करिब २५० मिटर तल खसेको हो।

दुर्घटनामा स्कारपियो चालक स्याङ्जाको वालिङ नगरपालिका-२ का ६७ वर्षीय दिलिप कुमार बगाले, वालिङ नगरपालिका-१० का ६० वर्षीय शिव पराजुली, गुल्मीको काली गण्डकी गाउँपालिका-१ सिरकोट घर भई हाल वालिङ बस्दै आएका लोकनाथ पाण्डे र सीता पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, काली गण्डकी गाउँपालिका-१ सिरकोट घर भई हाल बुटवलको खैरेनी बस्दै आएका कुलानन्द पाण्डेको पनि दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा घाइते भएकी नीता बगालेको काली गण्डकी सामुदायिक अस्पताल, मिर्मीमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा गुल्मीको काली गण्डकी गाउँपालिका-१ सिरकोटका छविलाल पाण्डे र गोमता पाण्डे तथा स्याङ्जाको वालिङ नगरपालिका-१० का बालकृष्ण सुवेदी घाइते भएका छन्।

About the author
नेपालब्रिटेन संवाददाता

नेपालब्रिटेन संवाददाता